सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । एक फिल्मले मलयालम फिल्म क्षेत्रमा नयाँ इतिहास रचेको छ । २५ करोड भारतीय रुपैयाँको बजेटमा निर्माण भएको रोमान्टिक कमेडी फिल्म ‘बेथलहम कुडुम्बा युनिट’ले विश्वभरबाट करिब ३ सय २६ करोड भारतीय रुपैयाँ कमाइ गरेको छ । प्रदर्शनको ३३ दिनमै फिल्मले यो आँकडा पार गरेको हो।

४१ वर्षीय निविन पोली र २५ वर्षीया ममिथा बैजु मुख्य भूमिकामा रहेको यो फिल्म हालसम्मकै सर्वाधिक कमाइ गर्ने मलयालम फिल्म बनेको दाबी गरिएको छ । यसअघि करिब ३ सय २ करोड भारतीय रुपैयाँको जीवनकालीन कमाइ गर्दै ‘लोका च्याप्टर वन : चन्द्रा’ले यो कीर्तिमान राखेको थियो ।

गिरिश एडिको निर्देशनमा बनेको फिल्मका सहनिर्माता फहद फासिल, दिलिश पोथन र श्याम पुष्करन हुन् । फिल्म करुकुट्टीकी एस्ले र उनीभन्दा उमेरले जेठा छिमेकी जस्टिनबीचको सम्बन्धमा केन्द्रित छ । प्रेम, हास्य तथा पारिवारिक कथावस्तुलाई दर्शकले रुचाएका कारण फिल्मले व्यावसायिक सफलता हासिल गरेको बताइएको छ ।

स्याकनिल्कका अनुसार फिल्मले भारतमा करिब १८५ करोड भारतीय रुपैयाँको कुल कमाइ गरेको छ भने वैदेशिक बजारबाट करिब १३७ करोड भारतीय रुपैयाँ संकलन गरेको छ।

फिल्मको सफलताले अभिनेता निविन पोलीको करियरमा पनि नयाँ कीर्तिमान थपेको छ । उनी मोहनलालपछि २०० करोड र ३०० करोड भारतीय रुपैयाँको क्लबमा प्रवेश गर्ने एकल अभिनेता बनेको दाबी गरिएको छ ।

मलयालम फिल्म उद्योगमा तुलनात्मक रूपमा कम बजेटमा बलियो कथा र प्रभावशाली प्रस्तुति भएका फिल्म निर्माण हुने गरेको चर्चा हुँदै आएको छ । ‘लोका’, ‘एल२’ र ‘थुडरम’ जस्ता फिल्मलाई पछि पार्दै ‘बेथलहम कुडुम्बा युनिट’ले पनि राम्रो कथा र जीवन्त अभिनयलाई दर्शकले रुचाउने प्रमाण दिएको निर्माण पक्षको दाबी छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com