सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । सुदर्शन थापाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘शुभ विवाह’को छायांकन तीन दिनका लागि स्थगित गरिएको छ। निर्माण पक्षले विज्ञप्ति जारी गर्दै लगातार भइरहेको भारी वर्षा र प्रतिकूल मौसमका कारण छायांकन स्थगित गरिएको जनाएको हो।

मौसममा आएको खराबी तथा सरकारले जारी गरेको उच्च सतर्कतासम्बन्धी सूचनालाई मध्यनजर गर्दै असोज ९, १० र ११ गते छायांकन रोक्ने निर्णय गरिएको निर्माण पक्षले जनाएको छ। कलाकार तथा सम्पूर्ण प्राविधिक टोलीको जीउधनको सुरक्षा र सहजतालाई पहिलो प्राथमिकतामा राखेर यो निर्णय लिइएको विज्ञप्तिमा उल्लेख छ।

निर्माता सुप्रिया कटुवालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस कठिन परिस्थितिमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सतर्क र सुरक्षित रहन हार्दिक अनुरोध गर्दछौँ। सुरक्षा नै पहिलो प्राथमिकता हो।’

४५ दिनको सेड्युलसहित पोखराबाट छायांकन सुरु गरिएको फिल्मको काम अहिले अन्तिम चरणमा पुगेको छ। गीतबाहेक फिल्मका प्रायः सबै दृश्यको छायांकन सकिएको निर्देशक सुदर्शन थापाले जानकारी दिए। बाँकी गीतको छायांकन पनि अबको १० दिनभित्र सकिने निर्माण पक्षले जनाएको छ।

नेपाली फिल्म क्षेत्रको सफल फिल्म ‘प्रेम गीत’पछि निर्देशक सुदर्शन थापा र अभिनेता प्रदीप खड्काबीच लामो समयपछि ‘शुभ विवाह’मार्फत पुनर्मिलन भएको हो। रोमान्टिक कथावस्तुमा आधारित फिल्ममा प्रदीप खड्का र सनिशा भट्टराई मुख्य भूमिकामा छन्।

फिल्ममा उनीहरूसँगै हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्दकिशोर भट्टराई, कृष्ण ढुंगाना, विशाल पहारी, अंशु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईं, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्य लगायतका कलाकारको अभिनय रहनेछ।

प्रियदर्शन फिल्म्सको ब्यानरमा निर्माण भइरहेको फिल्मका कार्यकारी निर्माता साम भुजेल हुन्। प्रदीप श्रीवास्तवको कथा रहेको फिल्मको पटकथा तथा संवाद रामशरण पाठकले तयार पारेका हुन्।

फिल्ममा अर्जुन पोखरेलको संगीत, रेभन आरती सिंहको पार्श्व संगीत, राजेश श्रेष्ठको छायांकन, मिलन श्रेष्ठको सम्पादन, राजेन्द्र मोक्तानको रङ संयोजन तथा विक्रम स्वारको नृत्य निर्देशन रहनेछ। सुशीला केसी र आकृति पन्तले पोसाक डिजाइन गरेका छन् भने साहिल खानले ट्रेलर सम्पादन गर्नेछन्।

विराज ढुंगाना फिल्मका कानुनी सल्लाहकार हुन्। बुढासुब्बा डिजिटल डिजिटल साझेदार रहेको फिल्मको वितरण भीष्म फिल्म्स र श्रीराम बालाजीले गर्नेछन्। ‘शुभ विवाह’ आगामी फागुन २१ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने तयारीमा छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com