सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । आगामी विजया दशमीको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको फिल्म ‘आ बाट आमा २’ले ‘पीजी’ प्रमाणपत्र प्राप्त गरेको छ । असोज ३० गते शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्मले सेन्सर बोर्डबाट ‘पीजी’ सर्टिफिकेट पाएको हो । ‘पीजी’ प्रमाणपत्र प्राप्त गरेसँगै अब १६ वर्षभन्दा कम उमेरका दर्शकले फिल्म हेर्न जाँदा अभिभावकलाई साथमा लैजानुपर्नेछ ।

चन्द्र पन्तको कथा तथा निर्देशनमा निर्माण भएको फिल्ममा विपना थापा, पल शाह, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलीप अखेडालगायत कलाकारको मुख्य भूमिका रहेको छ ।

पारिवारिक प्रेम, सम्बन्धको मिठास तथा आमा र सन्तानबीचको भावनात्मक सम्बन्धको कथामा आधारित फिल्मका गीत, टिजर तथा ट्रेलरले दर्शकमाझ राम्रो चर्चा बटुलिसकेका छन्। फिल्मको ट्रेलर सार्वजनिक भएको एकै दिनमा ३७ लाखभन्दा बढी पटक हेरिएको छ। त्यस्तै, दसैँ गीत ‘क्या दामी देखिया’ले ६ दिनमै ४३ लाखभन्दा बढी भ्युज प्राप्त गरेको छ।

यसअघि सार्वजनिक गीत ‘अचेल किन कान्छी’लाई पनि दर्शकले रुचाएका छन्। उक्त गीत ६४ लाखभन्दा बढी पटक हेरिइसकेको छ। फिल्मको टिजरले समेत दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ।

फिल्मको लेखनमा रोशन भट्ट र चन्द्र पन्तले सहकार्य गरेका छन् भने संवाद रोशन भट्टले लेखेका हुन्। नवराज उप्रेतीको छायांकन, बाबुल गिरीको संगीत तथा गम्भीर विष्टको नृत्य निर्देशन रहेको फिल्मका प्रोडक्सन एक्जिक्युटिभ करण सिंह हुन्। साहिल खान र मिलन श्रेष्ठले सम्पादन गरेको फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ भने नेपालभर वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com