सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेपाली फिल्म ‘पाँच पाण्डव’को पहिलो ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा आफू स्वर्गबाट आएको बताउने युधिष्ठिरले भीम, अर्जुन, नकुल र सहदेवलाई खोजिरहेको देखिन्छ। तर, उनले अन्य चार पाण्डवलाई किन खोजिरहेका छन् भन्ने कुरा भने खुलाइएको छैन।

पृथ्वीमा भइरहेको आन्दोलन, दमन, यातना र अपराधका दृश्यसँगै सुन्दर युवतीको आकर्षणमा स्वयं युधिष्ठिर मोहित भएको प्रसंग पनि ट्रेलरमा समेटिएको छ। निश्चित उद्देश्य लिएर अघि बढेका युधिष्ठिर बीचमै अलमलिएको देखिन्छ।

यी दृश्यले निश्चित लक्ष्य लिएर अघि बढेको नेतृत्व उद्देश्यमा पुग्नुअघि नै विचलित हुने वा पुरानै बाटोमा फर्किने प्रवृत्तिलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्न खोजेको संकेत गर्छन्। यद्यपि, फिल्मले यी प्रसंगलाई कसरी प्रस्तुत गरेको छ भन्ने कुरा भने प्रदर्शनपछि नै स्पष्ट हुनेछ।

फिल्मका मुख्य पात्रहरू एकातिर महाभारतका पाँच पाण्डवका रूपमा प्रस्तुत भएका छन् भने अर्कातिर समकालीन नेपाली समाजका पात्रका रूपमा पनि देखिएका छन्। पौराणिक चरित्र र वर्तमान समाजको यथार्थलाई एकसाथ प्रस्तुत गरिएको यस शैलीले फिल्मका पात्र र कथालाई थप रहस्यमय बनाएको छ।

यसअघि सार्वजनिक पहिलो पोस्टरमा युधिष्ठिरको भूमिकामा हरिवंश आचार्य, भीमको भूमिकामा जितु नेपाल, अर्जुनको भूमिकामा आर्यन सिग्देल, नकुलको भूमिकामा महेश त्रिपाठी र सहदेवको भूमिकामा सुशील सिटौला देखिएका थिए।

दोस्रो पोस्टरमार्फत द्रौपदीको चरित्र सार्वजनिक गरिएको थियो। फिल्ममा द्रौपदीको भूमिकामा इभा गिरी छिन्। ट्रेलरमा उनी युधिष्ठिरलाई मोहित पार्ने पात्रका रूपमा देखिएकी छन्। सरिता गिरी पनि फिल्ममा महत्वपूर्ण भूमिकामा प्रस्तुत भएकी छन्।

वसन्त निरौलाको निर्देशनमा बनेको फिल्म तिहारको अवसर पारेर कात्तिक २० गते (नोभेम्बर ६) देखि प्रदर्शनमा आउनेछ। निर्देशक निरौलाका अनुसार दर्शकले फिल्ममा डल्बी एटमस प्रविधिको ध्वनि अनुभव गर्न पाउनेछन्।

काली रानी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको फिल्ममा नेपाली फिल्म क्षेत्रका अनुभवी तथा नयाँ पुस्ताका चर्चित कलाकारहरू एकसाथ देखिनेछन्। हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला मुख्य पाँच पाण्डवको भूमिकामा छन्।

त्यस्तै, दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री)लगायत कलाकारको पनि अभिनय रहेको छ। फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन्। उनले गत वर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए। फिल्मकी निर्माता काली रानी श्रेष्ठ हुन्।

‘पाँच पाण्डव’को कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका छन् । लेखक पौडेलका अनुसार यो फिल्म सोसल ड्रामा विधामा आधारित छ। महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नु फिल्मको उद्देश्य रहेको उनले बताएका छन्।

श्याम तामाङको छायांकन रहेको फिल्ममा सुप्रिम पराजुलीको सम्पादन तथा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ। गम्भीर विष्ट र विक्रम स्वाँरले कोरियोग्राफी गरेका छन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com