सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । आगामी कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘बाटुलो जून’मा समावेश नृत्यप्रधान गीत ‘अल्लारे ठिटो आयो’ सार्वजनिक भएको छ। अभिनेता अनमोल केसी अभिनीत फिल्मको उक्त गीत निर्माण टिमले आइतबार युट्युबमार्फत सार्वजनिक गरेको हो।
सार्वजनिक गीतको भिडियोमा अनमोलसँगै डेब्यु अभिनेत्री प्रिन्सी खतिवडा फिचर्ड छन्। पुरानो नेपाली समाजको मौलिक परिवेशमा छायांकन गरिएको भिडियोमा अनमोल र प्रिन्सीबीचको दोहोरी, नोकझोक र प्रेमिल केमेस्ट्री देख्न सकिन्छ। निर्माण टिमका अनुसार नजिकिँदो तिहार पर्व र देउसी–भैलोजस्ता सांस्कृतिक पक्षलाई लक्षित गर्दै गीत सार्वजनिक गरिएको हो।
गीतमा रुबै र प्रवीण बेडुवालको स्वर रहेको छ। यसको संगीत निर्माण, मिक्सिङ तथा मास्टरिङ रूप महानताले गरेका छन्। गीतमा पञ्चेबाजा, सारङ्गी, गितार र बाँसुरीका धुन समेटिएका छन्।
भुवन केसीको निर्देशन तथा सनराइज पिक्चर्स प्रालिको ब्यानरमा तयार भएको ‘बाटुलो जून’ तीनदेखि चार दशकअघिको नेपाली परिवेशमा आधारित प्रेमकथानक फिल्म हो। आदर्श प्रेमलाई केन्द्रमा राख्दै तत्कालीन सामाजिक परिवेश, जीवनशैली र प्रेम गर्ने तौरतरिकालाई पर्दामा उतार्ने प्रयास गरिएको निर्माण टिमले जनाएको छ।
‘बाटुलो जून’ विगतको कथा प्रस्तुत गर्ने फिल्म मात्र नभई आफ्नै सिनेमायी यात्रासँग पनि जोडिएको निर्देशक केसीले बताउँदै आएका छन्। तत्कालीन समयका लोकप्रिय अभिनेता केसी स्वयं पनि फिल्ममा महत्त्वपूर्ण भूमिकामा देखिनेछन्। फिल्मको लेखनमा सामीप्यराज तिमल्सेनासँग सरिन पोखरेलले सहकार्य गरेका छन्।
राजेश श्रेष्ठको छायांकन रहेको फिल्ममा कृष्ण भण्डारीको सम्पादन र रोमन बज्राचार्यको पार्श्व संगीत रहेको छ। प्रदीप श्रेष्ठ एसोसिएट निर्देशक रहेको ‘बाटुलो जून’लाई जिया केसी र भविष्य खड्काले निर्माण गरेका हुन्। विवेक थापा सहनिर्माता रहेको यस फिल्मबाट अभिनेत्री गरिमा पन्तले लामो समयपछि अभिनयमा पुनरागमन गरेकी छन्।







प्रतिक्रिया