सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । उज्यालोको पर्व तिहार आइसक्यो । घरलाई झिलिमिली पार्नुका साथै देउसी-भैलो खेलेर मनाइने यस पर्वमा नेपाली फिल्मका गीतसङ्गीत पनि उत्तिकै गुञ्जिने गर्छन् । वर्षौँअघि सार्वजनिक भएका कालजयी गीत अहिलेको पुस्तामाझ पनि लोकप्रिय छन् । नेपाली फिल्ममा तिहारका प्रसङ्गसँगै यस पर्वलाई समेटिएका गीतसङ्गीतले विशेष स्थान पाएका छन् ।

फिल्म ‘स्वर्ग’मा समावेश ‘तिहारै आयो लौ झिलिमिली’ गीत सुन्दा तिहार आएको आभास हुन्छ । गाउँदेखि सहरसम्म तिहारका बेला गुञ्जिने यो गीत लामो समयदेखि श्रोताको रोजाइमा पर्दै आएको छ । अभिनेता शिव श्रेष्ठ र अभिनेत्री गौरी मल्ल प्रस्तुत गीतमा लोचन भट्टराई र नुतन प्रधानको स्वर छ । यादव खरेलको शब्द र शम्भुजित बाँस्कोटाको सङ्गीत रहेको गीत तिहारको पर्यायजस्तै बनेको छ ।

‘दियो बाली साँझको’ गीत पनि उत्तिकै लोकप्रिय छ । फिल्म ‘चिनो’मा समावेश यस गीतमा अभिनेत्री शुभद्रा अधिकारी र अभिनेता केशव भट्टराईले अभिनय गरेका छन् । कुसुम गजमेरको शब्द, रञ्जित गजमेरको सङ्गीत र आशा भोस्लेको स्वर रहेको गीतलाई निर्देशक तुलसी घिमिरेले फिल्मको कथावस्तुअनुसार तिहारको प्रसङ्गसँग जोडेर प्रस्तुत गरेका छन् ।

मनिला सोताङको स्वरमा रहेको फिल्म ‘अन्याय’को गीत ‘अधरमा आज उनकै छ’ पनि तिहारमा गुञ्जिने अर्को लोकप्रिय गीत हो । गीतकार रत्नशमशेर थापाको शब्द र रञ्जित गजमेरको सङ्गीत रहेको गीतको श्रव्यदृश्य पनि दर्शकमाझ लोकप्रिय छ । गीतमा अभिनेता विश्व बस्नेत, अभिनेत्री मीरा माधुरी, गीताञ्जली सुनारलगायत कलाकार देखिएका छन् ।

त्यस्तै, फिल्म ‘विजय पराजय’मा समावेश ‘निधारमा लर्काएर सप्तरङ्गी टीका’ र फिल्म ‘माइती’मा समावेश ‘हाँसेर बोल बैनी’लगायत गीत पनि तिहारका बेला उत्तिकै सुनिने गर्छन् । देउसी–भैलोसँगै यी गीतहरू पनि तिहारको सांस्कृतिक रौनक बढाउने माध्यम बनेका छन् ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com