सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । फिल्म ‘फ्रेन्च किस’ले टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । सार्वजनिक टिजरमा एक युगल जोडीलाई प्रस्तुत गरिएको छ । काठमाडौंका सुन्दर स्थानदेखि तालसम्म हात समाएर घुम्ने उनीहरू प्रेमबारे आ-आफ्ना धारणा राख्छन् । आधुनिक समयमा प्रेम मिथकजस्तै बनिसकेको उनीहरूको संवादले सङ्केत गर्छ ।
टिजरमा केटा र केटी दुवै एकअर्काप्रति आकर्षित देखिन्छन् । एकान्तमा बसेर चुम्बन गर्ने उनीहरू होटलमा पुगेर शारीरिक सम्बन्धसमेत राख्छन् । त्यसपछि उनीहरूबीच चर्को स्वरमा संवाद भएको सुनिन्छ । यसले उनीहरूको सम्बन्धमा चिसोपना आएको सङ्केत गर्छ ।
टिजरले आधुनिक प्रेममा देखिने क्षणिक आकर्षण र सम्बन्धको जटिलतालाई प्रस्तुत गरेको छ । टिजरमा अर्पण थापा र थिन्ले ल्हामो मात्रै देखिएका छन् । उनीहरूको रोमान्सकै वरिपरि टिजर केन्द्रित छ ।
अर्पण थापाको निर्देशनमा बनेको फिल्ममा अर्पण र थिन्ले ल्हामोसँगै रेखा थापा, गौरी मल्ल, आयशा तामाङलगायत कलाकारको अभिनय रहेको छ । फिल्मको कथा पनि निर्देशक थापा स्वयंले लेखेका हुन् ।
निर्देशक थापाले ‘फ्रेन्च किस’मार्फत नयाँ पुस्ताको प्रेमकथालाई फरक शैलीमा प्रस्तुत गर्न लागेको यसअघि नै बताइसकेका छन् । निर्माण टोलीले फिल्मलाई नयाँ पुस्ताको रुचि र स्वादअनुसारको प्रेमकथा भनेको छ । निर्देशक थापाका अनुसार दर्शकले यस फिल्ममार्फत आधुनिक प्रेमको अनुभूति गर्न पाउनेछन् ।
एटीएफ प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता सौगात बस्नेत र सहनिर्माता सुभाष बी. शाही हुन् । फिल्मको छायाङ्कन सुदीप बरालले गरेका छन् । फिल्ममा चर्चित गायक तथा सङ्गीतकार दीपक बज्राचार्यको सङ्गीत रहनेछ ।






प्रतिक्रिया