सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेपाल र दक्षिण कोरियाका फिल्मकर्मीको सहकार्यमा अन्तर्राष्ट्रिय फिल्म ‘ग्रान्ड एभरेस्ट आश्रम’ निर्माण हुने भएको छ । रोमान्टिक कमेडी तथा सुपरनेचुरल विधामा बन्न लागेको फिल्मको मुख्य भूमिकामा नेपाली अभिनेता अरुण क्षेत्री अनुबन्ध भएका छन्।

बोकल्ट फिल्म्स र काठमाडौं फिल्म्सको सहकार्यमा निर्माण हुन लागेको फिल्ममा दक्षिण कोरियाली निर्माता, निर्देशक तथा लेखक बोइम ह्वाङ र काठमाडौं फिल्म्सका संस्थापक एवं नेपाली सहनिर्माता चन्दन झा जोडिएका छन्।

‘ग्रान्ड एभरेस्ट आश्रम’मा के-ड्रामाको स्वादसमेत रहनेछ। फिल्मको कथा पूर्वके–पप स्टार र एक युवा नेपाली गुरु तथा होटल सञ्चालकबीच विकसित हुने अनपेक्षित प्रेम सम्बन्धमा आधारित छ। प्रेम, हास्य र रहस्यको संयोजनमार्फत आधुनिक सेलिब्रेटी संस्कृति तथा नेपालको आध्यात्मिक परिवेशबीचको रोचक सम्बन्धलाई प्रस्तुत गरिनेछ। प्रेम, पहिचान तथा बाहिरी देखावट र वास्तविकताबीचको भिन्नतालाई समेत कथामा समेटिने निर्माण पक्षले जनाएको छ।

फिल्मको पुरुष मुख्य भूमिकामा अरुण क्षेत्री चयन भएका छन् भने महिला मुख्य भूमिकामा दक्षिण कोरियाली अभिनेत्री रहनेछिन्। उनको नाम भने पछि सार्वजनिक गरिने निर्देशक ह्वाङले बताएकी छन्।

फिल्मको निर्माण तथा सिर्जनात्मक टोलीमा निर्माता, निर्देशक तथा लेखक बोइम ह्वाङ, सहनिर्माता चन्दन झा, छायांकन निर्देशक नरेन्द्र मैनाली, लाइन प्रोड्युसर प्रकाश हमाल तथा क्रिएटिभ डाइरेक्टर, कास्टिङ डाइरेक्टर, भाषा एवं अभिनय प्रशिक्षक र क्यारेक्टर डाइरेक्टरका रूपमा उत्पल झा रहेका छन्।

हिमाल र पदयात्राका परिचित दृश्यभन्दा फरक, ‘ग्रान्ड एभरेस्ट आश्रम’ले अलौकिक प्रेमकथामार्फत नेपालको अर्को पक्ष प्रस्तुत गर्ने लक्ष्य राखेको छ। फिल्ममा आध्यात्मिक र सामान्य जीवनबीचको द्वन्द्व तथा अन्तरक्रियालाई रोचक ढंगले प्रस्तुत गरिनेछ।

लेखक तथा निर्देशक बोइम ह्वाङले नेपालप्रतिको आफ्नो आत्मीयता फिल्ममार्फत व्यक्त गर्न लागेको बताएकी छन्। उनले भनिन्, “विगतका वर्षहरूमा पटक–पटक नेपाल भ्रमण गर्ने क्रममा यस देश र यहाँका मानिसहरूप्रति मेरो गहिरो आत्मीयता बढेको छ। नेपालमा रहेको आकर्षण, अनौठोपन र आध्यात्मिक वातावरणलाई आफ्नै सिनेम्याटिक दृष्टिकोणमार्फत पर्दामा उतार्न चाहेकी हुँ।”

यस सहकार्यले नेपाल र दक्षिण कोरियाबीचको सांस्कृतिक तथा सिर्जनात्मक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। दुवै देशका कलाकार, फिल्मकर्मी तथा निर्माण क्षेत्रको अनुभव एकसाथ जोड्दै अन्तर्राष्ट्रिय स्तरको फिल्म निर्माण गर्ने लक्ष्य निर्माण पक्षको छ।

फिल्मलाई विश्वव्यापी थिएटर प्रदर्शन तथा अन्तर्राष्ट्रिय फिल्म महोत्सव लक्षित गरी निर्माण गरिने सहनिर्माता चन्दन झाले बताए। नेपाल, दक्षिण कोरिया, उत्तर अमेरिका र युरोपका दर्शकलाई लक्षित गरिएको फिल्म पछि स्ट्रिमिङ प्लेटफर्ममार्फत समेत सार्वजनिक गर्ने योजना छ।

फिल्मको छायांकन सन् २०२७ को फेब्रुअरीदेखि नेपालमा सुरु गरी मार्चसम्म जारी राख्ने प्रारम्भिक योजना रहेको छ। नेपाली पात्रोअनुसार छायांकन माघदेखि चैत २०८३ सम्म हुनेछ। दक्षिण कोरियाली महिला मुख्य कलाकार, सहायक कलाकार तथा निर्माण टोलीका अन्य सदस्यहरूको विवरण भने छिट्टै सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com