सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । मिनु शर्मा प्रोडक्सनको प्रस्तुतिमा शिवम अधिकारीको लेखन तथा निर्देशनमा फिल्म ‘सेतो कोट’ निर्माण हुने भएको छ। कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा पूजाआजा गर्दै मुहूर्त गरिएको कार्यक्रममा फिल्मबारे जानकारी गराइएको हो।

फिल्मको मुहूर्त सटमा अशोक दर्जी र पूजा शर्माले संवाद बोल्दै गर्दा अभिनेता नीर शाहले निर्देशन गरेका थिए। शोभित बस्नेत क्ल्यापमा देखिँदा क्यामेरामा पत्रकार सरिता भारती थिइन् भने नरिवल फुटाउने जिम्मेवारी चर्चित भिलेन सुशान्त श्रेष्ठले निभाएका थिए।

आफ्नो दोस्रो फिल्म निर्माण गर्न लागेकी निर्माता मिनु शर्माले पहिलो फिल्म सफल भए पनि आफू भने जहाँको त्यही रहेको बताइन्। उनले यस फिल्मबाट आफू पनि सफल हुने अपेक्षा राखेको सुनाइन्।

फिल्ममा अभिनयमार्फत डेब्यु गर्न लागेकी ‘माइली बुहारी’ नामले परिचित सुमित्रा दाहालले आफूलाई हँसाउनभन्दा रुवाउन सहज हुने बताइन्। निर्माताले प्रस्ताव गरेपछि आफू फिल्ममा जोडिएको उनको भनाइ थियो।

अभिनेता नीर शाहले सेतो रङको अभाव भइरहेको समयमा यस फिल्मले सेतोपन बचाउने अपेक्षा राखेको बताए। अशोक दर्जीले यस टिमसँग काम गर्न पाउँदा उत्साहित रहेको सुनाए। पूजा शर्माले भने आफूले कथा खोल्न सक्ने भन्दै धेरै प्रश्न नगर्न आग्रह गरिन्। लेखनमा बढी मेहनत गर्नुपर्ने भएकाले स्क्रिप्टकै काममा व्यस्त शिवम अधिकारीले यस पटक समय छुट्याएर निर्देशन गर्न लागेको बताइएको छ।

फिल्मको कथामा मौलिकता, सामाजिक यथार्थ र भावनात्मक गहिराइलाई विशेष महत्त्व दिइएको निर्माण पक्षले जनाएको छ। नेपाली फिल्ममा कमै उठान गरिने विषयलाई मनोरञ्जनात्मक तथा प्रभावशाली शैलीमा प्रस्तुत गर्ने लक्ष्य राखिएको छ। कथाको मूल भाव र घटनाक्रमलाई रहस्यपूर्ण राख्दै दर्शकलाई सोच्न, महसुस गर्न र समाजलाई नयाँ दृष्टिले हेर्न प्रेरित गर्ने विश्वास निर्माण पक्षले लिएको छ।

मिनु शर्मा प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता मिनु शर्मा ‘सपना’ र सन्देश थापा ‘काजी’ रहेका छन् भने फणीन्द्र तामाङ कार्यकारी निर्माता हुन्।फिल्ममा नीर शाह, अशोक दर्जी, पूजा शर्मा, सुमित्रा दाहालसँगै पवन खतिवडा ‘बाबा’, विष्णु सापकोटा ‘हर्के हवलदार’, सुशान्त कुमार श्रेष्ठ, साम्राज्ञी थापा, सम्मान थापा, रामेश्वर रिजाल, दीपेन्द्र भण्डारी, कपिल खड्का, कृषा घिमिरे र सुप्रिया शर्मालगायतको अभिनय रहनेछ।

फिल्मको छायाङ्कन काठमाडौं, मकवानपुरलगायत नेपालको ग्रामीण भेगमा गरिनेछ। फिल्मको छायाङ्कन सौरभ लामाले गर्नेछन् भने सम्पादन बन्दे प्रसादको रहनेछ। संगीत स्टिभ शंकरले तयार गर्नेछन्। हेड अफ प्रोडक्सनमा अरुण रेग्मी, मुख्य सहायक निर्देशकमा नवराज शर्मा, बजार व्यवस्थापनमा भावेश ढकाल, प्रचार सामग्रीमा सञ्जीव खड्की, कला निर्देशनमा डुक्राज तथा सहनिर्देशनमा दीप्त प्रकाश अधिकारी र एलियास मलिक रहनेछन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com