सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । कुमार गजुरेल निर्देशित फिल्म ‘सारथी’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले बानेश्वरस्थित एनबी सेन्टरमा कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो। म्याग्दीको दुर्गम गुर्जा गाउँको ग्रामीण परिवेश र जीवनशैलीलाई समेटिएको ट्रेलरमा आमाछोराबीचको मर्मस्पर्शी संघर्षलाई मुख्य कथाका रूपमा प्रस्तुत गरिएको छ। जीवनयात्राका क्रममा आइपर्ने हरेक उतारचढावमा छोराको सारथी बनेकी आमाको भूमिकामा निरुता सिंह र छोराको भूमिकामा गिरि विश्वकर्माको दमदार तथा भावुक अभिनय देख्न सकिन्छ।

लामो समयपछि पर्दामा फर्किएका अभिनेता उत्तम प्रधान र नवअभिनेत्री गायत्री जोशीको भूमिकालाई ट्रेलरमा रहस्यमय ढंगले प्रस्तुत गरिएको छ। ट्रेलरको सुरुवातमै फिल्मको शीर्षकको अर्थ बुझाउँदै कलाकारहरूको परिचय गराइएको छ। ग्रामीण परिवेशमा देखिएका कलाकारहरूको अभिनय पनि स्वाभाविक र जीवन्त देखिन्छ।

निरुता सिंहले बोलेको ‘एउटा हात तिम्रो अघि सारथी बनेर रहिरहनेछ’ भन्ने भावनात्मक संवाद ट्रेलरको मुख्य आकर्षण बनेको छ। यसले फिल्मको शीर्षकलाई अर्थपूर्ण बनाउँदै सम्बन्ध, साथ र मानवीय संवेदनाको गहिरो भाव बोकेको छ। अभिनेत्री निरुता सिंहको भावपूर्ण कवितावाचनले पनि ट्रेलरलाई थप विशेष बनाएको छ।

निर्देशक गजुरेलकै कथा, पटकथा तथा संवाद रहेको फिल्म आगामी मंसिर ११ गतेदेखि हलमा प्रदर्शन हुनेछ। फिल्ममा निरुता सिंह, उत्तम प्रधान, गिरि विश्वकर्मा, गायत्री जोशी, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीलगायत कलाकारको अभिनय रहनेछ।

किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको फिल्मको सम्पूर्ण छायाङ्कन म्याग्दीको गुर्जा क्षेत्रमा गरिएको हो। फिल्मको छायाङ्कन संकल्प भुजेलले गरेका हुन्।

तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुन्। कार्यकारी निर्मातामा बेकबहादुर विश्वकर्मा र नवीन श्रेष्ठ रहेका छन्। अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सह–निर्माता हुन् भने अमिर केसी लाइन प्रोड्युसर रहेका छन्।

फिल्ममा बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत, राजु खतिवडाको मुख्य सहायक निर्देशन तथा यमुना आचार्य र आशिष श्रेष्ठको सहायक निर्देशन रहेको छ। फिल्म वितरणको जिम्मा आरआर फिल्म्सले लिएको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com