सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । भारतीय फिल्म ‘रामायण’ले नेपालमा २५ करोड ३० लाख रुपैयाँभन्दा बढी कमाइ गरेको छ । गत कात्तिक १९ गतेदेखि विश्वव्यापी प्रदर्शनमा आएको फिल्मले नेपालमा पनि दर्शकको उल्लेखनीय साथ पाएको हो । यस अवधिमा फिल्मका ६ लाख ४० हजारभन्दा बढी टिकट बिक्री भएका छन् ।
बक्सअफिस स्रोतका अनुसार फिल्मले शुक्रबारसम्म नेपालबाट २५ करोड ३० लाख रुपैयाँभन्दा बढी कमाइ गरेको छ। फिल्मले पाएको शो संख्या र दर्शकको अकुपेन्सीलाई हेर्दा नेपालमा यसको कमाइ ३० करोड रुपैयाँको हाराहारीमा पुग्ने अनुमान गरिएको छ।
नितेश तिवारी निर्देशित ‘रामायण’मा रणवीर कपूर भगवान् राम, साई पल्लवी सीता, यश रावण, रवि दुबे लक्ष्मण र सनी देओल हनुमानको भूमिकामा छन्। निर्माता नमित मल्होत्राले भारतीय पौराणिक कथालाई विश्वव्यापी दर्शकमाझ पुर्याउने उद्देश्यले फिल्म निर्माण गरेका हुन्।
भारतीय महाकाव्य रामायणको विस्तृत कथा एउटै फिल्ममा समेट्न सम्भव नहुने भएकाले निर्माण पक्षले यसलाई दुई भागमा प्रस्तुत गर्ने निर्णय गरेको हो। पहिलो भागको आधिकारिक शीर्षक ‘रामायण : राइज अफ अ लेजेन्ड’ राखिएको छ।






प्रतिक्रिया