सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अभिनेता अनमोल केसी स्टारर फिल्म ‘बाटुलो जून’ले बक्स अफिसमा ८ करोड रुपैयाँभन्दा बढी कमाइ गरेको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्टअनुसार मङ्सिर ६ गते आइतबार राति ११ः५९ बजेसम्म फिल्मले ८ करोड ३६ लाख ३७ हजार ९१७ रुपैयाँ ग्रस कमाइ गरेको छ । गत कात्तिक २६ गतेदेखि प्रदर्शनमा आएको फिल्मलाई हालसम्म २ लाख ६९ हजार ५४४ दर्शकले हेरेका छन् ।
भुवन केसीको निर्देशनमा बनेको ‘बाटुलो जून’ उनको दोस्रो निर्देशकीय फिल्म हो । यसअघि उनले ‘ड्रिम्स’ निर्देशन गरेका थिए । फिल्मले विसं २०४० को दशकको प्रेमकथा प्रस्तुत गर्छ ।
सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको पटकथा रहेको फिल्ममा अनमोल र प्रिन्सीसँगै भुवन केसी, न्यान्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना र शिशिर शिवाकोटीलगायत कलाकारको अभिनय छ ।






प्रतिक्रिया