सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । ‘पूर्णबहादुरको सारंगी’ फेम निर्देशक सरोज पौडेलको निर्देशनमा बनेको नयाँ फिल्म ‘सिन्दुरे जात्रा’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले बिहीबार बिग मुभिजमा कार्यक्रम आयोजना गर्दै चार मिनेट लामो ट्रेलर सार्वजनिक गरेको हो ।
सार्वजनिक ट्रेलरमा प्रेममा कौडाका कारण उत्पन्न हुने परिस्थिति र त्यसले प्रेम सम्बन्धमा पार्ने प्रभावलाई देखाइएको छ । कौडाको खेलले विजय र अञ्जनाको प्रेममा कस्तो नियति निम्त्याउँछ भन्ने कथा फिल्मले प्रस्तुत गर्ने ट्रेलरबाट बुझ्न सकिन्छ ।
‘पिरियड ड्रामा’ जनरामा निर्माण भएको फिल्मले तत्कालीन नेपाली समाजमा पुरुषको अहंकार र पितृसत्तात्मक सोचका कारण महिलाले भोग्नुपरेको अवस्था र त्यसका परिणामलाई चित्रण गरेको देखिन्छ ।
ट्रेलरमा अभिनेता विनोद न्यौपानेको ‘डिल्लीराम’ पात्र प्रेमकथाको प्रमुख बाधकका रूपमा देखिएका छन् । विजय बरालले ‘बाबुराम’ र अञ्जना बराइलीले ‘लक्ष्मी’को भूमिका निर्वाह गरेका छन् । यी दुई पात्रको प्रेममा डिल्लीरामले सिर्जना गर्ने अवरोधले कथालाई कस्तो मोडमा पुर्याउँछ भन्ने कौतूहल ट्रेलरले जगाएको छ ।
‘पूर्णबहादुरको सारंगी’बाट दर्शकमाझ स्थापित विजय बराल र निर्देशक पौडेलबीचको पुनः सहकार्यलाई पनि फिल्मको महत्त्वपूर्ण पक्षका रूपमा हेरिएको छ । यसपटक उनीहरू फरक परिवेश र समयको कथा लिएर दर्शकमाझ आउने तयारीमा छन् । सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको फिल्मको कथा निर्देशक पौडेल स्वयंले तयार पारेका हुन् ।
फिल्ममा विजय, अञ्जना र विनोदका अलावा उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, राज कटुवाल, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय छ ।
सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता नेम महर्जन हुन् । राकेश खड्का र श्याम मगर सहनिर्माता, सुमन रञ्जित एसोसिएट निर्माता तथा अनिश अधिकारी लाइन निर्माता छन् । दिनेश खड्का कार्यकारी निर्माता रहेको फिल्ममा पदमबहादुर श्रेष्ठ (बाबु)को छायाङ्कन, सुरेन्द्र पौडेलको सम्पादन र विशाल घिमिरेको क्रिएटिभ निर्देशन छ । फिल्ममा प्रशान्त सिवाकोटीको सङ्गीत रहेको छ ।
मंसिर १८ गतेदेखि देशभर प्रदर्शनमा आउने फिल्मको वितरण नेसनल सिने ग्रुप नेपालले गर्दैछ ।






प्रतिक्रिया