सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – रोमान्टिक भावको गीत ‘बेहाल’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच गीत सार्वजनिक गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथी बरिष्ठ संगीतकर्मी फणिन्द्र राई, बिशिष्ठ अतिथीहरु गीतकार अम्बिका गुरुङ, गीतकार तथा गजलकार भुपेन्द्र महत, चलचित्र सेन्सर बोर्डका सदस्य तथा चलचित्र पत्रकार संघका उपाध्यक्ष कुबेर गिरीलगायत श्रष्टा श्रर्जकहरुले गीतको अडियो तथा भिडियो सार्वजनिक गरेका हुन् ।

प्रेमभाव बोकेको गीतमा डा. देबेन्द्र प्रधानको शब्द, शंकर थापा ‘स्माइल’को संगीत र सुगम पोखरेल र रिता केसीको स्वर रहेको छ । विषम आचार्यको एरेन्जमेण्ट रहेको गीतमा किशोर थापाको मिक्सिङ तथा माष्टरिङ्ग रहेको छ । यस्तै गीतको भिडियोलाई केशव राज भट्टले निर्देशन गरेका हुन् । अभिषेक श्रेष्ठ र श्रीतिका श्रेष्ठको अभिनय रहेको भिडियोमा दिनेश पराजुलीको छायाँकन र डिन्सन शाहको सम्पादन रहेको छ ।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख अतिथी संगीतकर्मी राईले हरेक दृष्टिबाट गीत उत्कृष्ट बनेको बताए । यस्तै गीतकार गुरुङले गीत सुन्दा सरल भएपनि शब्द, संगीत र स्वरको उत्कृष्ट संयोजन रहेको जनाइन । यस्तै उनले गीतको भिडियो पनि आकर्षक बनेको बताइन । यता गजलकार महतले गीतको अडियो र भिडियो दुबै पक्ष शशक्त बनेको बताए । यस्तै सेन्सर बोर्ड सदस्य गिरीले पछिल्लो समय थुप्रै गीतहरु बजारमा आउने गरेको तर, केही मात्र उत्कृष्ट हुने गरेको बताए । तिनै उत्कृष्ट गीतहरुको सूचिमा यो गीतपनि अट्ने उनको भनाई छ । आफुले लामो समयदेखि संगीतकार थापाको कामलाई नजिकबाट नियाल्ने गरेको भन्दै उनको सृजनामा नविनता र मौलिकता दुबै भेटिने बताए ।

भारतको कालिङपोङ निवासी गीतकार डा. प्रधान यही गीत सार्वजनिक कार्यक्रमका लागि काठमाडौं आएका हुन् । नेपाली साहित्य र गीतसंगीतमा गहिरो रुचि राख्ने प्रधान सन् २०१९ देखि निरन्तर गीति लेखनमा सक्रिय छन् । झण्डै एक दर्जन गीतका श्रर्जक डा. प्रधानले भौगोलीक रुपमा जहाँ भएपनि मन भने नेपाली भएको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले फ्नो परिवेशले नै आफुलाई नेपाली साहित्य र संगीतमा लाग्न प्रेरित गरेको बताए । उनले आफु निरन्तर नेपाली साहित्य तथा गीत लेखनमा सक्रिय रहने बताए । आफुले झण्डै आधा दर्जन संगीतकारलाई यो शब्द कम्पोज गर्न दिएको भन्दै गीतकार डा. प्रधानले संगीतकार थापाको सृजना उत्कृष्ट लागेकोले आफुले उनीसँग सहकार्य गरेको बताए ।

यस्तै संगीतकार थापाले शब्दको भाव अनुसार नै संगीत सृजना गर्ने आफ्नो कोसिस रहेको बताए । प्रेमको गहिराईमा पुगेर गीतकारले लेखेका सरल शब्दहरुलाई आफुले पनि सरल शैलीमा कम्पोज गरेको उनको भनाई छ । पन्ध्र सय भन्दा बढी गीतमा संगीत दिइसकेका संगीतकार थापाका २ दर्जन बढी गीतहरु करोड क्लवमा छन् । उनले आफ्ना अघिल्ला गीतहरु भन्दा अलिक भिन्न स्वाद यो गीतमा पस्किएको जनाए ।

यता गायिका रिता केसीले उत्कृष्ट शब्द संगीतमा आफुले स्वर दिएको पाएको बताइन । उनले गीतकार डा. प्रधानका शब्दहरु सुन्ना साथ आफुलाई मन परेको बताइन । गीत राम्रो बनेको भन्दै उनले स्रोताको मन जित्ने विश्वास राखिन ।
यस्तै भिडियो निर्देशक केशव राज भट्टले आफुले गीतको भाव अनुसार नै भिडियो बनाउने कोसिस गरेको बताए । मुस्ताङ देखि पोखरा सम्म ४ दिन लगाएर गीतको छायाँकन गरिएको उनको भनाई छ । उनले प्रत्येक दृष्यलाई अर्थपूर्ण र सुन्दर बनाउन आफु र आफ्नो टिम लागिपरेको जनाए । यस्तै मोडल श्रीतिका श्रेष्ठले एउटा राम्रो सृजनाको हिस्सा हुन पाएकोमा खुशी ब्यक्त गरिन ।

कार्यक्रममा गीतसंगीत क्षेत्रका ब्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।

नजिकबाट गीतकार डा.प्रधान
डा. देबेन्द्र प्रधानको जन्म भारतको डुवर्स स्थित सामासिङ चियाबारीमा भएको हो । डा. प्रधान हाल पश्चिम बंगाल सरकार अन्र्तगत कालेबुङ जिल्लामा प्राणी सम्पद विकाश बिभागमा उप–निर्देशकका रुपमा कार्यरत् छन् ।
नेपाली साहित्य र संगीतमा गहिरो रुचि राख्ने डा. प्रधानले आफ्ना बिभिन्न श्रृजना मार्फत नेपाली साहित्य क्षेत्रलाई सिंचित गर्दै आएका छन् ।

कोभिड १९ अर्थात कोरोनाको चपेटामा परेर जीवन गुमाउनेहरु प्रति समर्पित गरि उनले पहिलो पटक ‘थाहै नपाई’ बोलको गीत रेकर्ड गरेका थिए । त्यसयता उनका झण्डै एकदर्जन गीत रेकर्ड भइसकेका छन् । थुप्देन भुटिया, उदय सोताङ, मनिला सोताङ, मिलन नेवार, आरिफ रवाफ, स्वरुप राज आचार्य, सुगम पोखरेल, रिता केसीलगायतका गायक गायिकाले उनका शब्दमा स्वर दिइसकेका छन् । यस्तै उहाँले संगीतकारहरु शंकर थापा ‘स्माइल’, योगेन्द्र घतानी, उदय सोताङ, सचिन सिंह, मधुसुदन लामासँग उनले सांगीतक सहकार्य गरेका छन् । उनका सृजनाहरुलाई ‘देव प्रोडक्सन’को युट्युव च्यानलमा हेर्न सकिनेछ ।

नजिकबाट संगीतकार शंकर थापा ‘स्माइल’
दुई दशक लामो समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय नाम हो संगीतकार शंकर थापा ‘स्माइल’ । उनले आधुनिक, पप, लोकपप, भजन, फिल्मीलगायत बिभिन्न जनराका पन्ध्र सय भन्दा बढी गीतमा थापाले संगीत सृजना गरेका छन् । नेपाली, हिन्दी, नेपाल (नेवारी), गुरुङलगायतका बिभिन्न भाषाका गीतमा उनको संगीत सुन्न सकिन्छ ।
उनीद्वारा संगीतवद्ध धड्कन, असिम, नजर, सधै सधै, मनोकाक्षा, कादम्बरी कुञ्ज, भाव, अनुपम यात्रालगायत झण्डै एकदर्जन म्युजिक एल्वम समेत बजारमा आएका छन् । उनले फाटेको जुत्ता, सेन्टि भाइरस, के घर के डेरालगायतका आधा दर्जन चलचित्रका गीतमा समेत संगीत दिएका छन् ।

राष्ट्रब्यापी खुल्ला संगीत प्रतियोगीता २०७७ मा उत्कृष्ट भएका उनले उत्कृष्ट संगीत सृजनाका लागि थुप्रै अवार्डहरु प्राप्त गरिसकेका छन् । संगीतकार थापाले अमिन राष्ट्रिय म्युजिक अवार्ड, नेशनल राप्ती म्युजिक अवार्ड, ओएस म्युजिक अवार्ड, योङ्ग माइण्ड इन्टरटेनमेण्ट अवार्ड, कालिका म्युजिक अवार्ड, नेशनल पावर न्यूज म्युजिक अवार्ड, म्युजिक खबर म्युजिक अवार्ड, जिनियस म्युजिक अवार्ड, बक्स अफिस नेशनल म्युजिक अवार्ड, स्पर्श म्युजिक भिडियो अवार्डलगायत झण्डै दुई दर्जन अवार्ड प्राप्त गरिसकेका छन् ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com