सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौं । भारतीय उड्डयन कम्पनी ड्युन्स एभिएसनले बलिउड अभिनेत्री नोरा फतेहीविरुद्ध ३ करोड भारुको मानहानि मुद्दा दायर गरेको छ । कम्पनीले नोराका ‘अपमानजनक र गैरजिम्मेवार’ टिप्पणीका कारण आफ्नो प्रतिष्ठामा क्षति पुगेको दाबी गरेको छ ।

कम्पनीले गुजरातको अदालतमा मुद्दा दायर गर्दै नोराले आफ्नो इन्स्टाग्राम खातामा चार्टर्ड विमानको भिडियो सार्वजनिक गर्ने क्रममा उक्त विमानलाई ‘सानो’, ‘खेलौना’ र ‘लेगोको विमान’ जस्ता शब्द प्रयोग गरेको दाबी गरेको छ ।

४ करोड ६० लाखभन्दा बढी फलोअर्स रहेकी नोराका टिप्पणीका कारण विमानको बुकिङ रद्द हुन थालेको कम्पनीको आरोप छ । यसबाट आफ्नो व्यावसायिक गतिविधिमा समेत नकारात्मक असर परेको कम्पनीले दाबी गरेको छ। ड्युन्स एभिएसनका अनुसार नोराको टिप्पणीपछि विमानको बुकिङमा १५ देखि २० प्रतिशतसम्म गिरावट आएको छ भने रद्द हुने क्रमसमेत बढेको छ ।

कम्पनीले अदालतसँग ३ करोड भारु क्षतिपूर्ति दिलाउन माग गरेको छ। साथै, सामाजिक सञ्जालमा विमानबारे गरिएका टिप्पणी तथा उल्लेख भएका सबै सामग्री तत्काल हटाउन आदेश दिन पनि माग गरिएको छ। यस मुद्दामाथि आगामी सेप्टेम्बर २५ मा सुनुवाइ हुने बताइएको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com