सबस्त इन्टरटेनमेन्ट, काठमाडौं । हलिउडमा ‘पहिलो एआई अभिनेत्री’का रूपमा प्रस्तुत गरिएको टिली नर्वुड अहिले मनोरञ्जन उद्योगमा नयाँ बहसको केन्द्र बनेकी छन्। एआई प्रविधिबाट सिर्जना गरिएको डिजिटल पात्रलाई अभिनेत्रीका रूपमा प्रस्तुत गरिएपछि एआईले वास्तवमै अभिनय गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठेको हो।
टिलीले हालै पहिलोपटक क्यामेरासामु ‘अन्तर्वार्ता’ दिएकी छन्। सीएनएनकी एलिजाबेथ वाग्माइस्टरले लिएको उक्त अन्तर्वार्तामा टिलीको प्रस्तुति, अभिव्यक्ति र अभिनय क्षमताको परीक्षण गरिएको थियो। उनको प्रस्तुतिले एआई पात्रले मानवीय कलाकारको अभिनयलाई कति हदसम्म अनुकरण गर्न सक्छ भन्ने बहसलाई थप सतहमा ल्याएको छ।
टिली कुनै वास्तविक व्यक्ति नभई एआई प्रविधिबाट सिर्जना गरिएको डिजिटल पात्र हुन्। उनको अनुहार, हाउभाउ, संवाद तथा प्रस्तुतिलाई प्रविधिको प्रयोगबाट निर्माण गरिएको छ। यही कारण उनलाई ‘अभिनेत्री’ भन्न मिल्छ कि एआईबाट सिर्जित पात्रका रूपमा मात्र हेर्नुपर्छ भन्ने प्रश्न पनि उठेको छ।
एआई प्रविधिको तीव्र विकाससँगै फिल्म उद्योगमा डिजिटल पात्रको प्रयोग बढिरहेको छ। समर्थकहरूका अनुसार यस्तो प्रविधिले फिल्म निर्माणमा नयाँ सम्भावनाको ढोका खोल्न सक्छ। विशेषगरी डिजिटल पात्रलाई फरक उमेर, रूप र परिस्थितिमा प्रस्तुत गर्न सकिने भएकाले निर्माताका लागि यसले नयाँ अवसर सिर्जना गर्न सक्ने उनीहरूको तर्क छ।
तर कलाकार तथा अधिकारकर्मीहरू भने एआईको बढ्दो प्रयोगप्रति चिन्तित छन्। एआईले वास्तविक कलाकारको अनुहार, आवाज वा अभिनय शैलीको अनुकरण गर्न सक्ने भएकाले यसले कलाकारको रोजगारी, पारिश्रमिक र सिर्जनात्मक अधिकारमा असर पार्न सक्ने उनीहरूको तर्क छ।
हलिउडमा एआईको प्रयोगलाई लिएर यसअघि नै कलाकार, लेखक तथा निर्माण पक्षबीच विवाद हुँदै आएको छ। कलाकारहरूले आफ्नो अनुमति र उचित पारिश्रमिकबिना एआईमार्फत आफ्नो स्वरूप, आवाज वा प्रदर्शन प्रयोग गर्न नहुने माग गर्दै आएका छन्।
टिली नर्वुडको उदयले भने एआई र मानव कलाकारबीचको सीमाबारेको बहसलाई अझ गहिरो बनाएको छ। अब डिजिटल पात्रलाई अभिनयको नयाँ स्वरूप मान्ने कि मानव कलाकारको विकल्पका रूपमा हेर्ने भन्ने प्रश्न मनोरञ्जन उद्योगसामु थप चुनौतीका रूपमा खडा भएको छ।









प्रतिक्रिया