सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । सामाजिक तथा राजनीतिक विषयवस्तुमाथि सशक्त फिल्म निर्माणका लागि परिचित भारतीय निर्देशक प्रकाश झा नेपाली फिल्म महोत्सवमा सहभागी हुन् नेपाल आउने गरेका छन् । उनी नेपाल आएपछि यहाँ बन्ने फिल्म, यहाँको राजनीतिक विषय, सामाजिक अवस्थाको बारेमा पनि जानकारी राख्ने गर्थे ।

निर्देशक तथा निर्माताका साथै पछिल्लो समय अभिनेताका रूपमा समेत प्रस्तुत हुँदै आएका झाले सन् १९७५ मा वृत्तचित्र निर्माताका रूपमा आफ्नो यात्रा सुरु गरेका थिए । भारतको बिहारमा हुर्किएका झाले बलिउडमा आफ्नो बेग्लै र प्रभावशाली छाप छाड्न सफल भएका छन् । नेपाल-भारत सीमा नजिकै हुर्किएका झा निर्देशित ‘गंगाजल’, ‘राजनीति’, ‘आरक्षण’, ‘चक्रब्युह’ र ‘सत्याग्रह’ जस्ता सुपरहिट फिल्म नेपाली दर्शक माँझ पनि लोकप्रिय छन् । उनले केही नेपाली फिल्मकर्मीलाई नेपाल राजनीतिको विषय फिल्मसम्म आइनपुगेको बताएका थिए । उनै निर्देशक झा नेपाल आउँदा गरिएको कुराकानीको सम्पादित अंश ।

निर्देशक झाले दर्शकले सहजै बुझ्ने शैलीमा फिल्म बनाउनुपर्नेमा जोड दिए । आफ्नो फिल्म निर्माण सम्बन्धी अनुभवका आधारमा उनले व्यावसायिक जोखिम कम गर्दै कलात्मक फिल्म बनाउने कोसिस गर्न सुझाव दिएका थिए ।

‘फिल्म भनेको मूलतः व्यवसाय हो, त्यसैले हलसम्म आउने दर्शक तपाईँको कामबाट सन्तुष्ट हुनुपर्छ । केवल कलात्मक अभिव्यक्तिका लागि मात्र फिल्म बनाइरहेका छौँ भन्ने सोच छ भने त्यो भ्रम मात्र हो । मैले दर्शकका लागि ‘गंगाजल’ र ‘राजनीति’ जस्ता व्यावसायिक फिल्म बनाएको छु भने आफ्नो आत्मसन्तुष्टिका लागि ‘परीक्षा’ र ‘मट्टोकी साइकल’ जस्ता प्रोजेक्टमा काम गरेको छु’, उनले भने ।

सुरुआती समयमा ‘दामुल’, ‘परिणति’ र ‘मृत्युदण्ड’ जस्ता फिल्मले समीक्षकबाट व्यापक प्रशंसा पाए पनि आर्थिक रूपमा सफलता दिलाउन नसकेको उनले स्मरण गरे । ती फिल्मले उनको कामलाई चिनाए पनि आमदर्शकले बुझ्न कठिन परेको उनको भनाइ छ । यही समस्या अहिले बलिउडमा पनि दोहोरिरहेको र यसको मुख्य कारण कथावस्तुमा पर्याप्त मेहनत नगरिनु रहेको उनले औँल्याए । कथालाई छाडेर केवल ‘प्रोजेक्ट’ मात्र बनाउनु बलिउडको ठूलो गल्ती भएको उनले बताए ।

‘पहिले कर्पोरेट हाउसले लगानी गर्दा कथावस्तु र कलाकारको चयन निर्देशक स्वयंले गर्थे । तर अहिले हाउसहरूले नै स्टार कलाकारको समय अनुसार फिल्मको योजना बनाइरहेका छन् । कथामा नभई स्टारमा लगानी भइरहेको छ, जसले गर्दा फिल्म होइन केवल प्रोजेक्ट मात्र बनिरहेका छन्’, उनले भने ।

आफ्नो मेकिङ शैलीबारे बोल्दै उनले भने, ‘मेरा फिल्महरूले कथा भन्ने हुन् । तिनले समाजमा कुनै ठूलो बहस सिर्जना गरून् भनेर म बनाउँदिनँ, तर आफूलाई लागेको कथा इमानदारीपूर्वक भन्छु । कुनै फिल्ममा प्रेमी-प्रेमिकाको बिछोडको कारण धनी र गरिबको खाडल हुन सक्छ, तर म त्यसमा वैचारिक द्वन्द्व र सामाजिक सभ्यता देख्छु । त्यसैले मैले सोच्ने र बुझ्ने कथा अरूभन्दा फरक हुन सक्छ।’

निर्देशक झाले राजनीतिक र सामाजिक व्यवस्था (सिस्टम) विरुद्धको आफ्नो आक्रोश फिल्ममार्फत नै पोख्ने गरेको घुमाउरो शैलीमा स्वीकार गरे । ‘मैले एक नेता बनेर भन्न चाहेका तथ्यहरू फिल्ममार्फत भनेको हुन सक्छु । किनकि फिल्मकर्मीहरू सधैँ सरकारको रचनात्मक प्रतिपक्षको भूमिकामा रहनुपर्छ भन्ने मेरो बुझाइ छ’, उनले भने ।

निर्देशक झाले नेपाली प्रोडक्सन हाउसहरूसँग सहकार्य गर्ने सम्भावनालाई भने नकारेनन् । राम्रो विषयवस्तु पाए आफ्नो इनपुट (परामर्श) दिएर फिल्मलाई उत्कृष्ट बनाउन आफ्नो टिम तयार रहेको उनले बता ए।

‘म यहाँको कथा आफैँ भन्न सक्दिनँ, किनकि मैले अहिलेसम्म आफ्नो परिवेशभन्दा बाहिरको कथा भनेको छैन । तर, नेपाली फिल्मकर्मीहरूसँग जोडिएर काम गर्न सक्छु । मेरो अनुभव र फिल्मप्रतिको बुझाइलाई उहाँहरूले प्रयोग गर्न सक्नुहुन्छ । हाम्रै जस्तो कथा र पटकथाको समस्या यहाँ पनि छ जस्तो लाग्छ । प्राविधिक पक्षमा जस्तै कथावस्तुमा पनि उत्तिकै मेहनत आवश्यक छ’, उनले भने ।

निर्देशक झा पछिल्लो समय ‘आश्रम’ नाम वेब सिरिजको नयाँ शृंखलाको छायांकन गरिरहेका छन् । यस्तै, उनले केही वर्षको विश्राम पश्चात ठूलो पर्दाको लागि ‘जनादेश’ नामक फिल्म बनाएका छन् ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com