सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेटफ्लिक्सको चर्चित एन्थोलोजी सिरिज ‘लस्ट स्टोरिज’को तेस्रो भाग ‘लस्ट स्टोरिज ३’को ट्रेलर सार्वजनिक भएको छ । यसपटक विशाल भारद्वाज, किरण राव, शकुन बत्रा र विक्रमादित्य मोटवानेले चार फरक कथा निर्देशन गरेका छन् ।
‘लस्ट स्टोरिज’ फ्रेन्चाइज जटिल सम्बन्ध, प्रेम, चाहना, असहज संवाद र मानिसले गर्ने अप्रत्याशित निर्णयका कथाका लागि परिचित छ । सन् २०१८ मा पहिलो भाग सार्वजनिक भएको थियो भने २०२३ मा दोस्रो भाग आएको थियो । तेस्रो भागले पनि आधुनिक सम्बन्ध र मानवीय चाहनाका विभिन्न पाटालाई चार फरक कथामार्फत प्रस्तुत गर्नेछ ।
ट्रेलरमा चार फरक परिवेश र सम्बन्धका झलक देखाइएको छ । कतै कार्यस्थलमा सहकर्मीबीचको असहज सम्बन्ध देखिन्छ भने कतै कारभित्र बसेका जोडीबीचको तनावपूर्ण मौनता प्रस्तुत गरिएको छ । त्यस्तै, युवापुस्ताको जमघट, गफ र सम्बन्धसँगै बिदा मनाउन गएका जोडीको कथा पनि ट्रेलरमा देखिन्छ ।
चारै कथाको दृश्य शैली भने फरक देखिन्छ । कार्यस्थलका चिसा र गम्भीर दृश्यको तुलनामा बिदाको परिवेशका दृश्यहरू उज्याला र न्यानो देखिन्छन् । यसले चार निर्देशकले आफ्नै शैलीमा कथा प्रस्तुत गरेको संकेत गर्छ । ‘ड्रामा’, ‘अराजकता’, ‘अपेक्षा’ र ‘हार्टब्रेक’जस्ता भावनालाई संकेत गरिए पनि वास्तविक कथा के हो भन्ने स्पष्ट पारिएको छैन।
‘लस्ट स्टोरिज ३’मा राधिका आप्टे र कोंकणा सेन शर्मा पुनः देखिँदैछन् । उनीहरूसँगै अदिति राव हैदरी, राधिका मदान, विजय वर्मा, अभिषेक बनर्जी, अली फजल, सिद्धार्थ, गुरफतेह पीरजादा र सना थम्पी लगायतका कलाकारको अभिनय छ । ‘लस्ट स्टोरिज ३’ सेप्टेम्बर १८ देखि नेटफ्लिक्समा स्ट्रिम हुने छ।






प्रतिक्रिया