सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अभिनेता सरोज खनाल रङ्गमञ्च र फिल्मका लागि परिचित नाम हुन् । तीन दशकभन्दा लामो अभिनय यात्रामा उनले ३० भन्दा बढी नाटक र सयभन्दा बढी फिल्ममा काम गरिसकेका छन् । नेपाली फिल्ममा अभिनेता हुँदै पछिल्लो समय सह-अभिनेताका रूपमा सक्रिय खनाल समय मिल्दा रङ्गमञ्चमा देखिने गर्छन्।
पछिल्लो समय उनले मण्डला नाटकघरमा मञ्चन भएको ‘मञ्जिरा : द म्यूटेड मेलोडी’मा अभिनय गरे । यसअघि उनले विसं २०७४ मा ‘बाह्र दुर्वासा’मा अभिनय गरेका थिए । प्राय फिल्ममा व्यस्त रहने अभिनेता खनालले अभिनयको अनुशासन कायम राख्न रङ्गमञ्चको आवश्यकता महसुस भएको बताउछन् ।
‘अमेरिकाबाट स्वदेश फर्किएपछि नाटकघरबाट अभिनयको सुरुआत गरेको थिएँ । रङ्गमञ्चमा काम गर्दा आफूलाई बुझ्ने मौका पाउँछु । म आफूलाई सिक्न र बुझ्न नाटकघर पुग्ने गर्छु’, खनालले भने । फिल्ममा अभिनय गर्दा प्राप्त हुने सन्तुष्टिभन्दा नाटकले दिने सन्तुष्टि फरक हुने उनको अनुभव छ ।
उनका अनुसार फिल्ममा सह-अभिनेताका रूपमा काम गर्दा पात्रका लागि पहिले जस्तो लामो तयारी गर्नुपर्ने अवस्था हुँदैन । छायांकनका क्रममा दृश्य दोहोर्याएर गर्न सकिने र प्राविधिक सुविधाका कारण कलाकारलाई सहज हुने उनको बुझाइ छ । तर रङ्गमञ्चमा भने अवस्था पूर्णतः फरक हुन्छ।
नाटकमा एउटा पात्रलाई दुईदेखि तीन महिनासम्म बाँच्नुपर्ने खनाल बताउँछन् । अभ्यासदेखि मञ्चनसम्म पुग्दा कलाकार र पात्रबीच भावनात्मक सम्बन्ध स्थापित हुने उनको अनुभव छ । नाटकले दिएको सन्तुष्टिकै कारण खनालले अब वर्षमा कम्तीमा दुईवटा नाटकमा अभिनय गर्ने योजना बनाएका छन्। विगतमा फिल्मका कारण नाटक छाडेका उनी अब भने नाटकका लागि फिल्मको कामसमेत छाड्न तयार रहेको बताउँछन् ।
‘विगतमा फिल्मकै कारण केही नाटकमा आफूलाई प्रस्तुत गर्न पाइनँ । अहिले फिल्मभन्दा पनि नाटक मेरो प्राथमिकतामा परेको छ । फिल्ममा निरन्तर काम गरिरहँदा आफ्नो अभिनय क्षमतालाई बढाउन र मापन गर्न रङ्गमञ्चको आवश्यकता महसुस गर्छु’, अभिनेता खनालले भने ।
उनका लागि रङ्गमञ्च फिल्मसम्म पुग्ने भर्याङ मात्र नभई आफ्नो कलाकारितालाई निरन्तर परीक्षण गर्ने ठाउँ बनेको छ ।






प्रतिक्रिया