सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । क्रिएटिभ इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी (सिआईएफटी)को आयोजनामा राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ हुने भएको छ। प्रतियोगिताका लागि आवेदनसमेत खुला गरिएको आयोजकले जनाएको छ।
सिआईएफटीकी प्रमुख सुचिता सचीका अनुसार फेसन, सौन्दर्य, व्यक्तित्व, नेतृत्व क्षमता तथा प्रतिभालाई केन्द्रमा राखेर प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगितामार्फत नेपाली युवतीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने आयोजकको उद्देश्य छ।
प्रतियोगिताका गतिविधि सेप्टेम्बर ११ देखि नोभेम्बर २८, २०२६ अर्थात् भदौ २५ देखि मंसिर १२, २०८३ सम्म विभिन्न चरणमा सञ्चालन हुनेछन्। १६ देखि ३२ वर्ष उमेर समूहका युवतीले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्। सहभागीका लागि न्यूनतम १५५ सेन्टिमिटर अर्थात् ५ फिट १ इन्च उचाइ तोकिएको छ।
प्रतियोगितामा सहभागी हुन एक हजार रुपैयाँ आवेदन शुल्क तोकिएको छ। आवेदन संकलनपछि असोज १० गते शनिबार अडिसन आयोजना गरिनेछ। अडिसनबाट छनोट हुने २५ जना प्रतिस्पर्धीलाई कोरियोग्राफर रोजिन शाक्यको नेतृत्वमा प्रशिक्षण दिइनेछ।
प्रतियोगिताको ग्रान्ड फिनाले मंसिर ५ गते हुनेछ। आयोजकका अनुसार ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’मार्फत तीनवटा अन्तर्राष्ट्रिय उपाधिका लागि नेपाली प्रतिनिधि छनोट गर्ने तयारी गरिएको छ।
एउटै राष्ट्रिय प्रतियोगिताबाट ‘मिस ग्ल्याम युनिभर्स नेपाल’, ‘मिस ग्ल्याम वर्ल्ड नेपाल’ र ‘मिस टिन ग्ल्याम वर्ल्ड नेपाल’का लागि योग्य प्रतिनिधि छनोट गर्ने अवधारणा अघि सारिएको आयोजकले जनाएको छ।
विभिन्न उमेर समूहका लागि छुट्टाछुट्टै प्रतियोगिता आयोजना गर्दा व्यवस्थापन तथा सञ्चालनमा कठिनाइ हुने भएकाले एउटै राष्ट्रिय मञ्चबाट उपयुक्त प्रतिनिधि छनोट गर्ने योजना बनाइएको हो। उमेर समूह तथा विभिन्न उपाधिका सम्बन्धमा अन्तिम संरचना आवेदन र अडिसन प्रक्रियासँगै स्पष्ट पारिने आयोजकको भनाइ छ।
अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त डाइरेक्टरसिप लेटरमा उल्लेखित आधिकारिक टाइटल तथा प्रावधानलाई आधार बनाएर प्रतियोगिताको संरचनालाई अन्तिम रूप दिइने आयोजकले जनाएको छ।
‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’की विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड २०२६’मा नेपालको आधिकारिक प्रतिनिधित्व गर्ने अवसर पाउने आयोजकले जनाएको छ। ‘मिस ग्ल्याम वर्ल्ड २०२६’ भारतमा सन् २०२६ को अन्त्यतिर आयोजना हुने बताइएको छ।
राष्ट्रिय प्रतियोगिताबाट छनोट भएर अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसरले विजेतालाई आफ्नो प्रतिभा र पहिचान अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने अवसर मिल्ने सिआईएफटीकी प्रमुख सुचिता सचीको विश्वास छ।
“प्रतियोगितामार्फत केवल बाह्य सौन्दर्यलाई मात्र नभई सहभागीको व्यक्तित्व, आत्मविश्वास, नेतृत्व क्षमता, प्रतिभा, प्रस्तुति शैली र सामाजिक चेतनालगायत पक्षलाई समेत मूल्यांकन गरिनेछ,” सचीले बताइन्।
सिआईएफटीले फेसन तथा सौन्दर्य क्षेत्रमा रुचि राख्ने युवतीलाई आफ्नो क्षमता प्रदर्शन गर्न र भविष्यमा यस क्षेत्रमा व्यावसायिक अवसर खोज्न प्रतियोगिताले महत्वपूर्ण प्लेटफर्म प्रदान गर्ने जनाएको छ।
आवेदन तथा प्रतियोगितासम्बन्धी थप जानकारीका लागि आयोजक संस्था सिआईएफटीका प्रतिनिधि माधुरी कर्णसँग सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ। भविष्यमा ‘मिस’ र ‘मिसेस’ विधाका प्रतियोगिता छुट्टाछुट्टै रूपमा वार्षिक आयोजना गर्ने योजना रहेको पनि आयोजक पक्षले जनाएको छ।






प्रतिक्रिया