सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । निर्माता तथा निर्देशक नारायण रायमाझीले नयाँ नेपाली फिल्म ‘बसन्ती’ निर्माणको घोषणा गरेका छन् । शुक्रबार बिहान ललितपुरस्थित कार्यविनायक मन्दिरमा शुभमुहूर्त गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो।

यसअघि पनि ‘बसन्ती’ नाममा फिल्म निर्माण भइसकेको छ। २०५७ सालमा निर्देशक नीर शाहले यही नाममा फिल्म बनाएका थिए। उक्त फिल्म उपन्यासकार डायमण्ड शमशेर राणाको उपन्यास ‘बसन्ती’मा आधारित थियो। उक्त फिल्म प्रदर्शनमा आएको २६ वर्षपछि सोही नाममा नारायण रायमाझीले नयाँ फिल्म निर्माण गर्न लागेका हुन्।

‘बसन्ती’ निर्देशक रायमाझीको चौथो निर्देशकीय फिल्म हो। यसअघि उनले ‘गोर्खापल्टन’, ‘परदेशी’ र ‘परदेशी २’ निर्देशन गरेका थिए। यी तीनवटै फिल्मले बक्स अफिसमा सफलता हासिल गरेका थिए।

फिल्मको काठमाडौं सेड्युलको छायांकन आज असोज ३ गते शनिबारदेखि सुरु भएको छ । निर्माण पक्षका अनुसार फिल्मको छायांकन काठमाडौं, पाल्पा, जनकपुर र बुटवलसँगै भारतका विभिन्न स्थानमा हुनेछ।

रिमा फिल्मस् प्रालिको प्रस्तुतिमा निर्माण हुने फिल्मको कथा र विषयवस्तु भने निर्माण पक्षले गोप्य राखेको छ। ‘बसन्ती’मा संगीतकार खेम सेन्चुरी र मोडल टेरिया फौजा मगर मुख्य भूमिकामा देखिनेछन्।

उनीहरूसँगै फिल्ममा सुशील पोखरेल, तारा शर्मा, संगीता थापा, सुजन सिंह खड्का, आकाश सुहाङ, प्रशंसा शिवाकोटी, विकास राना, मनोज खड्का, बिजया पौडेल, हरि अधिकारीलगायत कलाकारको अभिनय रहनेछ।

निर्देशक रायमाझी स्वयंले लगानी गर्ने फिल्मको कथा रमेश बिजीले लेखेका हुन्। फिल्मको मुख्य सह–निर्देशकमा चन्द्रकुमार भट्टराई, एसोसिएट निर्देशकमा सुजता बस्याल राना तथा सह–निर्देशकमा यगेबहादुर राउत र सन्जीव चन्द रहेका छन्। फिल्मका गीतमा रमेश बिजी, लालगोपाल सुवेदी, बीबी अनुरागी र नारायण रायमाझीको शब्द रहनेछ। संगीतमा बीबी अनुरागी र नारायण रायमाझी रहनेछन्।

फिल्मको छायांकन शिव ढकालले गर्नेछन् भने सह–छायांकारमा जयन्द्र रावल रहेका छन्। नहकुल खड्काले सम्पादन गर्ने फिल्ममा रोशन विश्वकर्मा र रविता मगरको कोरियोग्राफी रहनेछ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com