सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको दोस्रो निर्देशकीय फिल्म ‘जलाकी’को ‘पहिलो झलक’ सार्वजनिक गरिएको छ । निर्माण टिमले युट्युबमार्फत फिल्मको टिजर सार्वजनिक गरेको हो। सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकार उपासना सिंह ठकुरी, सोनम तोप्देन, अस्तित्व भट्टचन र साहारा हाङमा लिम्बूलगायतलाई प्रस्तुत गरिएको छ।

टिजरमा उपासना शिक्षिकाको भूमिकामा देखिएकी छन्। उनको बाल्यकाल, कलेज यात्राका क्रममा सोनमसँगको प्रेमसम्बन्ध र आमाको सम्झनालाई टिजरमा सरसर्ती प्रस्तुत गरिएको छ। त्यस्तै, सुन्दर हिमाल, पहाड, हरियाली वनजंगल र नदीका दृश्यले फिल्मको परिवेशलाई चित्रण गरेका छन्।

फिल्मको ‘पहिलो झलक’ले दर्शकमाझ कौतूहल सिर्जना गर्ने प्रयास गरेको देखिन्छ। यसअघि सार्वजनिक ‘चाँदी जलप’ गीत र पोस्टरले पनि दर्शकमाझ चर्चा पाएका थिए।

फिल्म आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउनेछ। ‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुंगाबाट बनाइएको स्तम्भलाई जनाउने शब्द हो। निर्देशक थापा मगरले यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर मगर र गुरुङ समुदायको संस्कृति, परम्परा र भावनालाई फिल्ममा प्रस्तुत गरिएको बताएका छन्।

सोनम र उपासनासहित फिल्ममा शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिनलगायत कलाकारको अभिनय रहेको छ।

विशेष भूमिकामा क्याप्टेन विजय लामा छन् भने बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनाहा मगरले अभिनय गरेका छन्। यो फिल्ममार्फत मिस सिक्किम साहारा हाङमा लिम्बूले नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी छन्।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्मातामा ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com