सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । वरिष्ठ फोटोपत्रकार बिकास रौनियारले सन् १९८६ मा काठमाडौंमा भएको चिनियाँ भाषाको फिल्म ‘द लेजेन्ड्स अफ विस्ली’को छायांकनसँग जोडिएको आफ्नो अनुभव सार्वजनिक गरेका छन् ।
रौनियारका अनुसार त्यतिबेला उनी व्यावसायिक फोटोपत्रकार भइसकेका थिएनन्। उक्त फिल्मको नेपालमा स्थानीय निर्माण व्यवस्थापनको जिम्मेवारी लिएको मार्कोपोलो ट्राभल्सले उनलाई काममा राखेको थियो ।
फिल्म निर्माणका क्रममा उनको जिम्मेवारी निर्देशन, क्यामेरा तथा निर्माण विभागलाई सहयोग गर्नु थियो। यही क्रममा उनले फिल्म निर्माणका विभिन्न पक्षबारे सिक्ने अवसर पाएको बताएका छन्। हङकङस्थित सिनेमा सिटी कम्पनीले निर्माण गरेको उक्त फिल्मको केही भाग काठमाडौंमा छायांकन गरिएको थियो।
रौनियारका अनुसार एक बिहान फिल्मका निर्देशक टेडी रोबिनले उनलाई छायांकनमा नआउन भन्दै अभिनेत्री जोई वोङलाई साथ दिन आग्रह गरे । फिल्मको एउटा दृश्यका लागि जोई वोङले बसन्तपुरमा हात्ती चढ्नुपर्ने भएकाले छायांकनअघि उनलाई हात्तीसँग परिचित गराउनु आवश्यक थियो ।
त्यसका लागि गोकर्ण सफारी रिसोर्टमा आवश्यक व्यवस्था गरिएको थियो । त्यहाँ हात्ती हेरचाह गर्ने व्यक्तिले जोई वोङलाई हात्तीसँग परिचित गराउनुका साथै हात्ती नियन्त्रण गर्ने केही आधारभूत तरिका सिकाएका थिए ।

‘हामी गोकर्ण गयौँ। म हात्ती हेरचाह गर्ने व्यक्तिसँग आवश्यक कुराकानी र व्याख्या गर्दै थिएँ। यही क्रममा मैले जोई वोङका केही तस्बिर पनि खिचिरहेको थिएँ,’ रौनियारले स्मरण गरे ।
उनले गोकर्णमा हात्तीमाथि बसेकी जोई वोङको तस्बिरसँगै आफूले उनको सहायकसहित उनलाई फुर्सदको समयमा पाटन भ्रमणमा लैजाँदा केही तस्बिरसमेत खिचे ।
फिल्म छायांकनसँग जोडिएको उक्त अनुभव आफ्ना लागि निकै विशेष रहेको बताउँदै रौनियारले यो जीवनकै अविस्मरणीय अनुभवमध्ये एक भएको उल्लेख गरेका छन् । ‘मैले अद्भुत अनुभव प्राप्त गर्न सकेँ। साँच्चै अविस्मरणीय अनुभवहरू, जुन म कहिल्यै बिर्सने छैन,’ उनले भने ।
(बिकास रौनियार वरिष्ठ फोटो पत्रकार हुन् । यो तस्बिर उनले सन् १९८६ मा काठमाडौंमा भएको चिनियाँ भाषाको फिल्म ‘द लेजेन्ड्स अफ विस्ली’को छायांकनका क्रममा खिचेका थिए । )






प्रतिक्रिया