सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अमेरिकाको ओहायोस्थित फेयरफिल्डमा गत आइतबार ‘डान्स विथ रुपेश, ग्लोबल डान्स स्टुडियो’को भव्य उद्घाटन सम्पन्न भएको छ । नेपाली कला, संस्कृति तथा नृत्यको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले स्थापना गरिएको स्टुडियोको उद्घाटन विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वको उपस्थितिमा गरिएको हो।

कार्यक्रमको सुरुवात फेयरफिल्ड सहरकी उपमेयर डेबी पेनिङटन, विशेष अतिथि डीलाना डेभनपोर्ट र भुटानी समुदाय सिन्सिनाटीका अध्यक्ष पुष्प लुईटेलले संयुक्त रूपमा रिबन काटेर गरेका थिए। त्यसपछि स्टुडियोका संस्थापक, वरिष्ठ नृत्य निर्देशक तथा कलाकार रुपेश उप्रेतीले दीप प्रज्वलन गरी उद्घाटनलाई औपचारिकता दिएका थिए।

कार्यक्रममा बोल्दै फेयरफिल्डकी उपमेयर डेबी पेनिङटनले नेपाली समुदायले स्थानीय तहमा व्यवसाय तथा कलाको विकासका लागि अघि सारेको पहलको प्रशंसा गरिन्। उनले स्टुडियोको सफलताको शुभकामना दिँदै आगामी दिनमा नगरको तर्फबाट निरन्तर सहयोग र समर्थन रहने बताइन्।

त्यस्तै, ‘लङ्गभाइभ गैरनाफामूलक संस्था’की संस्थापक तथा ‘केयरसोर्स’की सहायक उपाध्यक्ष डा. भर्जिनिया स्कटले स्टुडियोका विद्यार्थीले प्रस्तुत गरेको नृत्यको प्रशंसा गरिन्। उनले नेपाली बालबालिकाको कला, अनुशासन र ऊर्जाको प्रशंसा गर्दै आगामी दिनमा आफूले आयोजना गर्ने विभिन्न ठूला कार्यक्रममा स्टुडियोका नृत्यकलाकारलाई समेत आमन्त्रण गर्ने घोषणा गरिन्।

उक्त समारोहमा अमेरिकाका विभिन्न राज्यबाट कलाकार, सामाजिक अभियन्ता तथा नेपाली समुदायका अगुवाहरूको उल्लेख्य सहभागिता रहेको थियो।कार्यक्रममा इनास उत्तर अमेरिकाका राहुल केसी, वरिष्ठ फिल्म निर्देशक गोपालचन्द्र लामिछाने, इनास अमेरिकाका उपाध्यक्ष तथा केन्टकीका फिल्म निर्देशक सुमन दाहाललगायतको उपस्थिति थियो।

त्यस्तै, स्थानीय समाजसेवी तथा बौद्धिक व्यक्तित्व टीकाराम सुवेदी, राजन चौहान, डा. भोला शिवाकोटी, सुरज गुरुङ, हरि सुवेदी, सीता रेग्मी, अनिता श्रेष्ठ, विष्णु सापकोटा, विष्णु खरेल र प्रकाश मिश्रलगायत ३० भन्दा बढी विशिष्ट अतिथि सहभागी थिए।

कार्यक्रमको मुख्य आकर्षण स्टुडियोका विद्यार्थीहरूको सांस्कृतिक नृत्य प्रस्तुति रह्यो। विद्यार्थीहरूले विभिन्न नेपाली संस्कृति र परम्परा झल्काउने नृत्य प्रस्तुत गरेका थिए।

सोही अवसरमा रुपेश उप्रेती र आरभ उप्रेतीद्वारा अभिनित तथा निर्देशित म्युजिक भिडियो ‘बाबा छोरा’को आधिकारिक सार्वजनिक तथा विशेष प्रदर्शनसमेत गरिएको थियो। भिडियोको प्रस्तुति, नृत्य तथा निर्माणले उपस्थित दर्शक र अतिथिको ध्यान खिचेको थियो।

सोही अवसरमा राजु केसी र राहुल केसीको पहलमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ओहायो शाखाको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको छ। रुपेश उप्रेतीको अध्यक्षतामा गठित नयाँ कार्यसमिति यसप्रकार छ :

अध्यक्ष: रुपेश उप्रेती
उपाध्यक्ष: केशव पौडेल
महासचिव: तुलराम अधिकारी
कोषाध्यक्ष: हेम फुयाल
कार्यकारी सदस्य: डेबिड ढकाल
कार्यकारी सदस्य: प्रकाश घिमिरे
कार्यकारी सदस्य: शारदा धिताल
कार्यकारी सदस्य: दुर्गा बान्तवा राई
कार्यकारी सदस्य: डिल्ली चम्लागाईं
सल्लाहकार: पुष्प लुईटेल

रुपेश उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन नवनियुक्त महासचिव तुलराम अधिकारीले गरेका थिए। कार्यक्रमको अन्त्यतिर तीजका गीतमा सहभागी कलाकार, अतिथि तथा अभिभावकले नृत्य गर्दै उत्सव मनाएका थिए। सिन्सिनाटीका युवाहरूको सांगीतिक समूह ‘गर्जन’को प्रस्तुतिले समेत कार्यक्रमको माहोल थप उत्साहपूर्ण बनाएको थियो।

कार्यक्रमको समापन गर्दै अध्यक्ष रुपेश उप्रेतीले उपस्थित अतिथि, अभिभावक, सञ्चारकर्मी तथा सहयोगी सबैलाई धन्यवाद व्यक्त गरे। उनले ओहायोमा नेपाली पहिचान, कला र संस्कृतिलाई जीवन्त राख्न स्टुडियो निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com