सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । निर्देशक बलिराम चौहानको निर्देशनमा बन्न लागेको फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को शुभमुहूर्त गरिएको छ । निर्माण टिमले ललितपुरस्थित कार्यविनायक मन्दिरमा पूजा गर्दै फिल्मको शुभमुहूर्त गरेको हो । शुभमुहूर्त कार्यक्रममा निर्देशक चौहान, निर्माता भोलानाथ कटुवालसहित फिल्मका अधिकांश मुख्य कलाकारको उपस्थिति थियो ।

निर्देशक चौहानका अनुसार फिल्मको छायांकन बुधबारदेखि काठमाडौंको लाजिम्पाटबाट सुरु हुनेछ। फिल्मको छायांकनका लागि ३५ दिनको तालिका तय गरिएको छ। काठमाडौंसँगै झापा र सुनसरीको इटहरी क्षेत्रमा फिल्मको छायांकन गरिनेछ।

स्काइफल पिक्चर्सको प्रस्तुति रहने फिल्मको नारा ‘हरेक युवाको कथा’ राखिएको छ। नेपाली युवापुस्ताले साथीभाइबीचको अनावश्यक किचकिच, एउटै विषयमा बारम्बार दिइने दबाब वा मानसिक तनावलाई जनाउन बोलचालमा ‘ल्याङ्ग ल्याङ्ग’ शब्द प्रयोग गर्ने गर्छन्।

निर्देशक चौहानका अनुसार फिल्मले यही युवा चरित्र र उनीहरूको दैनिक जीवनका उतारचढावलाई प्रस्तुत गर्नेछ। ‘फिल्मले जेनजी पुस्ताको प्रेम, संघर्ष र स्वतन्त्रताको कथा भन्नेछ,’ निर्देशक चौहानले भने, ‘विशेषगरी युवापुस्ताको मनोविज्ञान र समसामयिक कथालाई पर्दामा उतार्नेछौं।’

कथावस्तुलाई समेत युवाकेन्द्रित बनाइएकाले फिल्मको नारा ‘हरेक युवाको कथा’ राखिएको निर्माण पक्षले जनाएको छ। फिल्ममा रिहान गिरी, सन्तोष बानियाँ, जीवनजंग बस्न्यात, गुराँस ढकाल, प्रज्वल दुलाल, बिनोदसिंह थापा, सुप्रिया खनाल, हिउँवाला गौतम, सवी थापा, श्रेया श्रेष्ठ, सुगम दुलाल र सिर्जना बानियाँलगायत कलाकारको अभिनय रहनेछ।

फिल्मको कथा बलिराम चौहान र उपाश्री खतिवडाले संयुक्त रूपमा तयार पारेका हुन्। स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण हुने फिल्ममा भोलानाथ कटुवालको लगानी रहनेछ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com