सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । लामो अन्तरालपछि चर्चित नाट्य निर्देशक तथा अभिनेता सुनील पोखरेल नाटक ‘अन्तिम गीत’ मार्फत मञ्चमा पुनरागमन गरेका छन् । रुसी नाटककार एन्टोन चेखोभको चर्चित एकाङ्की ‘द स्वान सङ’को नेपाली रूपान्तरण ‘अन्तिम गीत’ असोज २ देखि ५ गतेसम्म काठमाडौंस्थित रुसी सांस्कृतिक केन्द्रमा मञ्चन गरिएको हो ।
महेश पौड्यालले नेपालीमा अनुवाद गरेको नाटकको निर्देशन नवराज बुढाथोकीले गरेका हुन् । नाटकमा सुनील पोखरेलसँगै अभिनेत्री सब्बु गुरुङले सह-अभिनेत्रीको भूमिका निर्वाह गरेकी छन् ।
चेखोभको ‘अन्तिम गीत’ ६८ वर्षीय हास्य कलाकार भासिली स्भेटलोभिडोभको जीवनमा आधारित एक छोटो एकाङ्की नाटक हो। विशेष प्रस्तुतिपछि उनी आफूलाई एउटा अँध्यारो प्रादेशिक नाट्यशालाभित्र एक्लो अवस्थामा पाउँछन्।
त्यसपछि उनको विगत, रंगमञ्चसँगको सम्बन्ध, कलाकारका रूपमा बिताएको जीवन तथा मञ्चबाट टाढिँदै गएको अवस्थाबीचको भावनात्मक द्वन्द्वलाई नाटकले प्रस्तुत गर्छ।
लामो समयपछि सुनील पोखरेलको मञ्चमा पुनरागमन भएका कारण ‘अन्तिम गीत’प्रति नाटकप्रेमीको चासोसमेत बढेको थियो। चेखोभको लेखन, नेपाली अनुवाद र कलाकारहरूको प्रस्तुतिमार्फत नाटकले कलाकारको जीवन, रंगमञ्चप्रतिको मोह र अन्तिम क्षणको भावनालाई प्रस्तुत गरेको छ।
तस्बिरहरू : बिकास रौनियार













प्रतिक्रिया