सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । कस्तुरी प्रोडक्सन प्रालिको प्रस्तुति तथा क्लासिक सिने युनिभर्स प्रालिको सहकार्यमा निर्माण हुन लागेको नयाँ फिल्म ‘सिन्दूर’को छायाङ्कन सुरु भएको छ। निर्माणपक्षका अनुसार फिल्मको छायाङ्कन पश्चिम नेपालको दाङबाट सुरु गरिएको हो।

लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्ममा सञ्जीव सार्कीको लगानी रहनेछ। सुनारले यसअघि निर्देशन गरेका ‘बुलाकी’ र ‘परालको आगो’ चर्चामा आएका फिल्म हुन्। फिल्मका कार्यकारी निर्माता दिनेश सिंह महरा रहेका छन्।

संकल्प भुजेलको छायाङ्कन रहने फिल्ममा प्रशान्त सिवाकोटी, श्रीकृष्ण बम मल्ल र दिनेश ढकालको संगीत रहनेछ। प्रकाश हमाल निर्माण प्रमुख रहेको फिल्ममा करणबहादुर साउद मुख्य सहायक निर्देशक तथा रामजी लामिछाने नृत्य निर्देशकका रूपमा रहनेछन्।

फिल्ममा पुष्प खड्का र प्रशंसा रायमाझी मुख्य भूमिकामा देखिनेछन्। निर्माणपक्षले एक महिनाको सेड्यूल तय गरेर फिल्मको छायाङ्कन सुरु गरेको जनाएको छ। सामाजिक कथावस्तुमा आधारित फिल्म ‘सिन्दूर’ले महिलाको जीवनमा सिन्दूरको महत्वलाई कथाको मुख्य विषय बनाएको छ। एक महिलाका लागि सिन्दूरको सामाजिक तथा भावनात्मक महत्व कस्तो हुन्छ भन्ने विषयलाई फिल्ममा प्रस्तुत गरिने निर्माणपक्षले जनाएको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com