सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । सुदर्शन थापाको निर्देशनमा निर्माण भएको फिल्म ‘शुभ विवाह’को सम्पूर्ण छायांकन ४० दिनमै सकिएको छ । निर्माण टिमले ४० दिनअघि पोखरामा क्यामेरा पूजाअर्चना गर्दै फिल्मको छायांकन सुरु गरेको थियो ।
४५ दिनको छायांकन सेड्युल राखिएको फिल्मको सुटिङ पाँच दिन अगावै सकिएको निर्देशक थापाले बताए । उनका अनुसार कलाकार तथा प्राविधिकको अथाह मेहनतका कारण निर्धारित समयभन्दा अगावै छायांकन सम्पन्न भएको हो।
प्रियदर्शन फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा अभिनेता प्रदीप खड्का र अभिनेत्री सनिशा भट्टराई मुख्य भूमिकामा छन्। उनीहरूका साथमा हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्दकिशोर भट्टराई, कृष्ण ढुङ्गाना, विशाल पहारी, अन्शु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईँ, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्यको अभिनय रहेको छ।
निर्देशक थापा र अभिनेता खड्काले यसअघि फिल्म ‘प्रेम गीत’मा पनि सहकार्य गरेका थिए। सुप्रिया कटुवालको लगानी रहेको फिल्ममा साम भुजेल कार्यकारी निर्माता छन्। फिल्मको कथा प्रदीप श्रीवास्तवले लेखेका हुन् भने पटकथा तथा संवाद रामशरण पाठकको रहेको छ।
फिल्मका गीतमा अर्जुन पोखरेलको संगीत तथा रेभन आरती सिंहको पार्श्व संगीत रहनेछ। राजेश श्रेष्ठले छायांकन (डीओपी) र मिलन श्रेष्ठले सम्पादन गरेका छन्। कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गर्नेछन् भने विक्रम स्वारले नृत्य निर्देशन गरेका छन्। फिल्मको ट्रेलर सम्पादन साहिल खानले गर्नेछन्।
चिफ सह–निर्देशकका रूपमा बसन्त अधिकारी (प्रमुख) रहेका छन् भने साजन कट्टेल र प्रार्थना पाठक सह–निर्देशकका रूपमा छन्। फिल्मको ध्वनि मनोज लामा, कला निर्देशन रोशन दिवाना र प्रोडक्सन म्यानेजरमा सुदीप ढकाल रहेका छन्। पब्लिसिटी डिजाइन तथा पोस्टर निर्माण आनन्द महर्जनले गर्नेछन्।
फिल्म आगामी फागुन २१ गतेदेखि नेपालभर प्रदर्शनमा आउनेछ। फिल्मको डिजिटल पार्टनरका रूपमा बुढासुब्बा डिजिटल रहेको छ भने वितरणको जिम्मा भीष्म फिल्म्स र श्रीराम बालाजीले लिएका छन्।







प्रतिक्रिया