सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको दोस्रो फिल्म ‘जलाकी’को अमेरिका र क्यानडाका लागि अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ। निर्देशक मगरले फिल्मको प्रदर्शन अधिकार बिक्री भएको जानकारी दिएका हुन्।
पिएनएम एलएलसीले अमेरिका र क्यानडाको प्रदर्शन अधिकार खरिद गरेको हो। फिल्मको अमेरिका र क्यानडामा प्रदर्शन मिति वितरक र निर्माताबीचको छलफलपछि तय गरिने निर्देशक मगरले बताएका छन्।
फिल्मका ‘कलेजीको छेऊ’, ‘चाँदी जलप’ र ‘जाले रुमाल मायालाई’ बोलका गीतसँगै टिजर सार्वजनिक भइसकेका छन्। सार्वजनिक गीत तथा टिजरले दर्शकमाझ चर्चा पाइरहेका छन्। विशेषगरी ‘चाँदी जलप’ बोलको गीतमा १० लाखभन्दा बढी टिकटक भिडियो बनेका छन्। यससँगै ‘कलेजीको छेऊ’ र ‘जाले रुमाल मायालाई’ बोलका गीत पनि रिल्स तथा सर्ट्समा रुचाइएका छन्। सार्वजनिक सामग्रीले फिल्मप्रति दर्शकको उत्सुकता बढाएको निर्माण पक्षको विश्वास छ।
आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने फिल्मको कथा मगर र गुरुङ समुदायको आस्था, संस्कृति, परम्परा र भावनामा केन्द्रित छ। निर्देशक मगरका अनुसार ‘जलाकी’ मगर समुदायको आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाले बनाइएको स्तम्भलाई जनाउने शब्द हो। यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर फिल्म निर्माण गरिएको उनले बताएका छन्।
फिल्ममा उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्गी, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर र दुइसाङ थिनलगायत कलाकारको अभिनय छ। विशेष भूमिकामा क्याप्टेन विजय लामा देखिनेछन्। त्यस्तै, बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगर छन्। यसै फिल्मबाट मिस सिक्किम साहारा हाङमा लिम्बूले नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी छन्।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन्।







प्रतिक्रिया