सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेपाली फिल्म शृङ्खला ‘कबड्डी’ का पात्र काजीको १० वर्षे साङ्गीतिक तथा भावनात्मक यात्रालाई समेटेर नयाँ गीत ‘बुझ्न मलाई’ सार्वजनिक गरिएको छ । गायक तथा सङ्गीतकार कालीप्रसाद बास्कोटाको रचना, सङ्गीत र स्वर रहेको गीतले काजीको चरित्रभित्र लुकेका भावना र संवेदनालाई प्रस्तुत गरेको छ ।

पहिलो भाग ‘कबड्डी’ देखि प्रदर्शनरत ‘कबड्डी ५’सम्म आइपुग्दा काजीको चरित्रमा देखिएका हठीपन, जिद्दी स्वभाव र अनौठा व्यवहारसँगै उनको मनभित्रका मानवीय संवेदनालाई गीतमार्फत अभिव्यक्त गरिएको छ । अभिनेता दयाहाङ राईले निर्वाह गरेको काजीको चरित्रलाई सङ्गीतको माध्यमबाट व्याख्या गर्ने प्रयास गीतमा गरिएको छ ।

गीतको अडियो प्रोडक्सन बिजु कर्माचार्यले गरेका हुन् । ऋकेश गुरुङको मिक्सिङ रहेको गीतमा आशिष चित्रकारले गिटार तथा अर्गन, सरिन बज्राचार्यले ड्रम्स र कृष्णा लिम्बूले बेस गितार बजाएका छन् । गीतको रेकर्डिङ अमूल्य श्रेष्ठले गरेका हुन् ।

रामबाबु गुरुङको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘कबड्डी ५’मा दयाहाङ राई, विपिन कार्की, विजय बराल, बुद्धि तामाङ, रिष्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले र अरुणा कार्कीलगायत कलाकारको अभिनय रहेको छ ।

फिल्मका निर्माता रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) हुन् भने सागर राज कार्यकारी निर्माता छन् । फिल्ममा सञ्जय लामाको छायाङ्कन, सुरेन्द्र पौडेलको सम्पादन, उत्तम न्यौपानेको ध्वनि डिजाइन र राजेन्द्र मोक्तानको कलर रहेको छ। फिल्मको पोस्टर डिजाइन आनन्द के. महर्जनले गरेका छन् भने मिडिया संयोजकको जिम्मेवारी सीपी जैशीले सम्हालेका छन् ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com