सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अभिनेता तथा निर्माता दीपकराज गिरीदसैँको अवसर पारेर असोज ३१ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै २’ ले घरेलु बक्स अफिसमा अपेक्षाअनुसार व्यापार गर्न नसकेको स्वीकार गर्दै लगानी सुरक्षित हुने क्रममा रहेको बताएका छन् । निर्माताको लगानी सुरक्षित गर्दै दर्शकलाई सन्तुष्ट पार्ने उद्देश्यले आफूहरूले फिल्म निर्माण गर्दै आएको बताउदै गिरीले आफ्नो समूहले निर्माण गरेका फिल्मले सकारात्मक प्रतिक्रिया पाए पनि अपेक्षाअनुसारको कमाइ गर्न नसकेको बताए ।
उनले आफ्नो समूहको फिल्म ‘वडा नम्बर ६’ लाई धेरैले राम्रो भने पनि त्यसको व्यापार अन्य फिल्मको तुलनामा कम रहेको उल्लेख गरे। ‘हाम्रो समूहले निर्माण गरेको फिल्म ‘वडा नम्बर ६’ लाई धेरैले राम्रो भन्नुहुन्छ, तर त्यसको कमाइ अन्यको भन्दा कम छ। यसपटक पनि हामीले सकारात्मक प्रतिक्रिया पाएका छौँ, तर कमाइ भने राम्रो हुन सकेको छैन,’ उनले भने।
फिल्म ‘छ माया छपक्कै २’ मा रोहित अधिकारी निर्माताका रूपमा जोडिएका छन् । फिल्ममा दीपकराज गिरी र दीपाश्री निरौलाले अभिनय तथा लेखनसँगै क्रिएटिभ पक्षमा पनि योगदान दिएका छन् ।
दीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, सनिशा भट्टराई, दीपाश्री निरौला, कर्मा शाक्य र रिहान गिरीलगायत कलाकारको अभिनय छ।
यसअघि प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ ले घरेलु बक्स अफिसमा नौ करोड ९२ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। पहिलो भागको व्यावसायिक सफलताका कारण सिक्वेलप्रति पनि दर्शकको चासो थियो। तर, सार्वजनिक बक्स अफिस रिपोर्टअनुसार ‘छ माया छपक्कै २’ को हालसम्मको कमाइ अघिल्लो भागको तुलनामा निकै कम देखिएको छ।







प्रतिक्रिया