सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । प्रसिद्ध भारतीय अभिनेत्री शबाना आजमीले शनिबार आफ्नो फिल्म यात्रा, समानताको सोच र व्यक्तिगत जीवनका विभिन्न पक्षबारे खुलेर कुराकानी गरेकी छन्।

काठमाडौँ महानगरपालिकाले आयोजना गरेको फिल्म महोत्सवमा सहभागी हुन नेपाल आएकी शबानाले अभिनेत्री स्वस्तिमा खड्कासँग भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको हलमा संवाद गरेकी हुन्। यसअघि पनि पटक-पटक नेपाल आइसकेकी शबानाले यसपटक आफ्ना प्रशंसकका जिज्ञासा मेटाउने प्रयास गरिन्।

फरक देश र पुस्ताका भए पनि शबाना र स्वस्तिमाको फिल्म यात्रामा केही समानता छन्। दुवैले व्यावसायिक र कलात्मक धारका फिल्ममा अभिनय गरेका छन् । शनिबारको अन्तरक्रियामा उनीहरूका सोचमा पनि समानता देखियो ।

शबानाले आफूले अभिनय गरेका फिल्म सामाजिक रूपमा सचेत रहेको र तिनले समाज तथा दर्शकमा गहिरो प्रभाव पारेकोमा खुसी व्यक्त गरिन्। उनका अनुसार कलाकारले समय र परिस्थितिअनुसार शोषण, दमन तथा मानवअधिकारजस्ता गम्भीर विषयमा आफ्नो धारणा राख्नुपर्छ। अभिनेत्रीका रूपमा पर्दामार्फत पनि यस्ता विषयमा सशक्त आवाज उठाउनुपर्ने उनको भनाइ थियो।

शबानाले कलात्मक र व्यावसायिक दुवै धारका फिल्ममा सशक्त अभिनय गरेकी छन्। पहिलो फिल्म ‘अंकुर’बाटै राष्ट्रिय फिल्म पुरस्कार जितेकी उनले सुरुआती दिनमा ‘कलात्मक फिल्ममा काम गर्ने अभिनेत्रीले व्यावसायिक फिल्ममा अभिनय गर्न सक्दैनन्’ भन्ने धारणा सुन्ने गरेको बताइन्। तर दुवै धारका फिल्ममा काम गर्दै सन्तुलन कायम गर्न सकेकोमा आफूलाई गर्व लागेको उनले सुनाइन्।

‘व्यावसायिक फिल्महरूले मलाई आर्थिक रूपमा बलियो बनाउँदा कलात्मक फिल्महरूले आत्मिक सन्तुष्टि दिए,’ उनले भनिन्।

फिल्म यात्रासँगै शबानाले व्यक्तिगत जीवन र प्रेम सम्बन्धका विषयमा पनि अनुभव सुनाइन्। कार्यक्रममा स्वस्तिमाले शबानासँग उनको पहिलो फिल्म ‘अंकुर’देखि पछिल्लो रिलिज फिल्म ‘रकी और रानी की प्रेम कहानी’सम्मको फिल्म यात्राका विभिन्न प्रसंगबारे कुराकानी गरेकी थिइन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com