सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । दसैँ नेपाली फिल्मका लागि महत्त्वपूर्ण प्रदर्शन समय मानिन्छ। पारिवारिक माहोल र लामो बिदाका कारण दसैँमा परिवारका सदस्य एकसाथ हल पुग्ने र अन्य समयको तुलनामा फिल्मको व्यापार बढ्ने अपेक्षा गरिन्छ। यही कारण निर्माता तथा निर्देशक दसैँलाई लक्षित गर्दै आफ्ना फिल्म प्रदर्शन गर्न जोड गर्छन्।
यस वर्षको दसैँमा पनि यही अपेक्षासहित टीकाअघि ‘आ बाट आमा २’, ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा आए। टीकाको भोलिपल्टदेखि भने ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ प्रदर्शन भयो। तर, सार्वजनिक बक्सअफिस तथ्यांक हेर्दा दसैँअघि प्रदर्शन भएका तीन फिल्मले अपेक्षाअनुसार व्यापार गर्न सकेनन्। बरु टीकापछि प्रदर्शनमा आएको ‘कबड्डी ५’ले दर्शकको बढी आकर्षण पाएको देखिन्छ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार, कात्तिक १५ गते आइतबारसम्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले घरेलु बजारमा १० करोड ७६ लाख ७३ हजार ७१५ रुपैयाँ ग्रस कमाइ गरेको छ। उक्त अवधिसम्म फिल्मका ३ लाख ४६ हजार ४२७ टिकट बिक्री भएका छन्।
त्यस्तै, ‘आ बाट आमा २’ले ६ करोड २४ लाख ७० हजार १३० रुपैयाँ कमाइ गरेको छ। फिल्मका २ लाख १३ हजार १९४ टिकट बिक्री भएका छन्। ‘छ माया छपक्कै २’ले ३ करोड ३४ लाख ८४ हजार ४३५ रुपैयाँ र ‘१२ गाउँ २’ले २ करोड २९ लाख ५७ हजार ९८६ रुपैयाँ कमाएका छन्। यी सबै फिल्मको कमाइ प्रदर्शनमा आएको मितिदेखि आइतबारसम्मको हो।

यसपटक दसैँमा प्रदर्शन भएका फिल्मभन्दा टीकाको भोलिपल्टदेखि प्रदर्शनमा आएको ‘कबड्डी ५’मा दर्शकको आकर्षण बढी देखिएको छ। सबै फिल्म सिक्वेल वा शृंखलाका रूपमा निर्माण भएका थिए। अघिल्ला भागको सफलताका कारण यी फिल्मबाट पनि राम्रो व्यापारको अपेक्षा गरिएको थियो। तर, दसैँअघि प्रदर्शनमा आएका फिल्मले दर्शकको अपेक्षाअनुसार हलमा उपस्थिति जुटाउन सकेनन्।
रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको ‘कबड्डी ५’ले मिश्रित प्रतिक्रिया पाए पनि सुरुआती दिनदेखि नै आक्रामक व्यापार गरेको छ। नयाँ फिल्मको प्रदर्शनले ठूलो असर नगरे यसको व्यापार यात्रा अझै लामो हुन सक्ने देखिन्छ। फिल्ममा दयाहाङ राई, विजय बराल, विपीन कार्की, बुद्धि तामाङ, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ। अभिनेता राईले दर्शक फिल्मका पात्रसँग जोडिएकाले पर्दामा सहजै सम्बन्ध स्थापित भएको हुन सक्ने बताए।
दसैँमा प्रदर्शन भएका अन्य तीन फिल्मको व्यापारलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका थिए। कतिपयले दर्शकको अपेक्षाअनुसार व्यापार नभएको टिप्पणी गरेका थिए भने कतिपयले फिल्म सफल भएको दाबी गरेका थिए। तर, चलचित्र विकास बोर्डले सार्वजनिक गरेको आधिकारिक बक्सअफिस तथ्यांकले अघिल्ला भागको तुलनामा तीनवटै फिल्मको कमाइ कमजोर देखाएको छ।
कस्तो छ ‘आ बाट आमा २’ को व्यापार ?
चन्द्र पन्तको निर्देशनमा बनेको ‘आ बाट आमा २’ले ६ करोड २४ लाख ७० हजार १३० रुपैयाँ कमाइ गरेको छ। यसको पहिलो भाग ‘आ बाट आमा’ले १३ करोड २० लाख रुपैयाँ ग्रस कमाइ गरेको थियो। पहिलो भागको सफलताका कारण दोस्रो भागबाट पनि राम्रो व्यापारको अपेक्षा गरिएको थियो। तर, निर्देशक पन्तले यसपटक दसैँमा एकैसाथ धेरै फिल्म प्रदर्शन भएकाले अघिल्लो भागको सफलता दोहोरिने अपेक्षा नराखेको बताए।

‘फिल्मको भिडभाडले गर्दा मैले मात्र होइन, अरूले पनि अघिल्लो भागभन्दा बढी व्यापार हुन्छ वा कमाइ हुन्छ भन्ने सोच राखेको जस्तो लाग्दैन। हाम्रो फिल्म राम्रो चल्छ भन्ने अपेक्षा थियो, चलिरहेको पनि छ। किनकि एकल प्रदर्शन हुँदा हुने कमाइ अन्य फिल्मसँग प्रतिस्पर्धा गर्दा कम हुन सक्छ,’ उनले भने।
उनले फिल्म चलाउन आफूले टिकट किनेर दर्शकको संख्या बढाउने काम नगरेको दाबीसमेत गरे। फिल्ममा पल शाह, विपना थापा, मलिका महत र आकाश श्रेष्ठलगायत कलाकारको अभिनय छ।
‘छ माया छपक्कै २’लाई व्यावसायिक धक्का
‘६ एकान ६’देखि नै घरेलु दर्शकको माया र विश्वास कमाएका अभिनेता दीपकराज गिरीको फिल्म ‘छ माया छपक्कै २’ले यसपटक अपेक्षाअनुसार व्यापार गर्न सकेन। चलचित्र विकास बोर्डको तथ्यांकअनुसार फिल्मको कमाइ साढे तीन करोड रुपैयाँ पनि पुगेको छैन।
दीपकराजका यसअघिका धेरै फिल्मले नौ करोड रुपैयाँभन्दा बढी कमाइ गरेका थिए। तर, ‘छ माया छपक्कै २’ले त्यो सफलता दोहोर्याउन नसक्ने देखिएको छ।

दीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, सनिशा भट्टराई, दीपाश्री निरौला, कर्मा शाक्य र रिहान गिरीलगायत कलाकारको अभिनय छ।
यसको पहिलो भाग ‘छ माया छपक्कै’ले नौ करोड ९२ लाख रुपैयाँ ग्रस कमाइ गरेको थियो। पहिलो भागको व्यावसायिक सफलताका कारण दोस्रो भागप्रति पनि दर्शकको चासो थियो। तर, सार्वजनिक बक्सअफिस तथ्यांकअनुसार दोस्रो भागको कमाइ पहिलोको तुलनामा निकै कम छ। अभिनेता गिरीले पनि फिल्मको व्यापार कमजोर रहेको स्वीकार गरेका छन्।
‘हाम्रो फिल्मले गर्ने व्यापार वा कमाइको तुलनामा ‘छ माया छपक्कै २’ सबैभन्दा कमजोर देखिएको छ। यो सत्य हामीले स्वीकार्नै पर्छ। तर, दर्शकबाट समीक्षा भने निकै राम्रो पाएका छौँ। यद्यपि, व्यावसायिक रूपमा सफल भएका छौँ,’ उनले भने।
‘१२ गाउँ २’को कमाइ कमजोर
विराज भट्टको निर्देशनमा बनेको ‘१२ गाउँ २’ले पनि अपेक्षाअनुसार व्यापार गर्न सकेन। दसैँमा प्रदर्शन भएका फिल्ममध्ये यसको कमाइ सबैभन्दा कम देखिएको छ। फिल्मले घरेलु बजारमा २ करोड २९ लाख ५७ हजार ९८६ रुपैयाँ मात्रै कमाएको छ।

यसको पहिलो भाग ‘१२ गाउँ’ले १९ करोड ९२ लाख रुपैयाँ ग्रस कमाइ गरेको थियो। पहिलो भागको सफलताका कारण दोस्रो भागबाट पनि ठूलो व्यापारको अपेक्षा गरिएको थियो। तर, दोस्रो भागले अघिल्लो फिल्मको सफलतालाई निरन्तरता दिन सकेन।
फिल्ममा विराज भट्ट, समीर भट्ट, अनुपविक्रम शाही, कृशु शाही, वर्षा इटानी र सुनिल पोखरेललगायत कलाकारको अभिनय छ।
दसैँको व्यापारमा निरन्तर गिरावट
विगतका वर्षको दसैँको व्यापारसँग तुलना गर्दा यसपटक नेपाली फिल्मको कमाइमा गिरावट देखिएको छ। विसं २०८१ को दसैँमा प्रदर्शन भएका तीन फिल्मले झन्डै ३९ करोड रुपैयाँ व्यापार गरेका थिए। विसं २०८२ को दसैँमा भने यस्तो कमाइ घटेर करिब १५ करोड रुपैयाँमा सीमित भएको थियो। यस वर्षको दसैँमा प्रदर्शन भएका फिल्मको व्यापारले पनि अघिल्लो वर्षको तुलनामा सुधारको संकेत दिन सकेन।
दसैँको लामो बिदा, पारिवारिक दर्शकको सम्भावना र सिक्वेलप्रतिको चासोले मात्रै फिल्मको व्यापार सुनिश्चित हुँदैन भन्ने यसपटकको बक्सअफिस नतिजाले देखाएको छ। अघिल्ला भागको सफलताले दर्शकलाई हलसम्म तान्न सहयोग गरे पनि नयाँ फिल्मप्रतिको दर्शकको रुचि, विषयवस्तु र दर्शकसँगको सम्बन्धले नै व्यापारमा निर्णायक भूमिका खेल्ने देखिन्छ।






प्रतिक्रिया