सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अभिनेता जितु नेपाल आगामी कात्तिक २० गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘पाँच पाण्डव’मा भीमसेनको चरित्रमा देखिँदैछन्। फिल्मको ट्रेलरमा अभिनेता हरिवंश आचार्यले उनलाई ‘भीम’ भनेर सम्बोधन गर्दा जितुले ‘म त भीमसेन हो’ भनेको दृश्यले दर्शकमाझ चासो बढाएको छ।
महाभारतमा भीम पाँच पाण्डवमध्ये सबैभन्दा बलिया पात्रका रूपमा चिनिन्छन्। त्यसैले जितु कसरी भीमसेनको भूमिकामा देखिए भन्ने जिज्ञासा पनि उठेको छ। तर, जितु आफू फिल्ममा महाभारतकै भीम नभई त्यस चरित्रको एउटा अंशका रूपमा प्रस्तुत भएको बताउँछन्।
‘यो सही कुरा हो। भीम भन्दा सबैले ठूलो चरित्रलाई बुझ्छन्। तर फिल्ममा मेरो चरित्र पनि रमाइलो छ। किनभने यो ठ्याक्कै पाँच पाण्डवको कथा होइन। कसैले मलाई तँ भीम होस् भनेर सोध्ने पनि होइन,’ जितुले भने।
उनले फिल्मको कथाबारे सुनाउँदै भने, ‘स्वर्गमा रहेका युधिष्ठिर दाजुभाइबिना सुखी हुनुहुन्न। उहाँलाई चार जना भाइको सम्झना आउँछ। ५१ सय वर्षपछि पनि कुनै न कुनै रूपमा मेरा भाइहरू जन्मिएका होलान् भनेर चिन्तित भइरहँदा भगवान्ले भाइहरू नेपाल नगरीमा छन् भनेपछि उहाँ खोज्न आउनुहुन्छ। हामीलाई भेटेर तँ भीम होस्, तँ अर्जुन होस्, तँ मेरो नकुल होस् भनेर चिनाउनुहुन्छ। मैले आफैँ भीम हुँ भनेको होइन।’
भीमको चरित्रमा आफूलाई प्रस्तुत गर्दा केहीले उनको शारीरिक बनावटबारे टिप्पणी गरेको पनि जितुले सुनाए। ‘कसैले भीम सानो हुनुभयो पनि भने। तर भीम सानै हुन नपाउने भन्ने त होइन नि,’ उनले भने।
जितुका अनुसार फिल्ममा उनी इँटाभट्टामा काम गर्ने मजदुरको भूमिकामा छन्। त्यसैले भीमको चरित्रका लागि विशेष तयारी गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ।
‘मैले अलिअलि तयारी गरेँ। म पूर्ण रूपमा भीम होइन। हामी पाण्डवको एउटा अंश मात्रै हौँ। कल्पनामा आएर कसैले जोड्नुभयो भने एउटा कुरा हो। म फिल्ममा इँटाभट्टाको मजदुर हुँ। त्यसकारण निर्देशकको निर्देशन र कथाले मागेअनुसार काम गरेको हुँ,’ उनले भने।
महाभारत र पाण्डवजस्ता पात्रसँग जोडिएको कथामा काम गर्न पाउँदा आफू खुसी भएको जितुले बताए। फिल्मको पोस्टर र ट्रेलरमा पाण्डवको झल्को दिने रूप देखिए पनि कथा भने समकालीन समाजसँग जोडिएको उनको भनाइ छ।
फिल्ममा काम गर्दा आफूले तीनवटा चुनौती महसुस गरेको जितुले सुनाए। पहिलो चुनौती अभिनेत्री दीपाश्री निरौलासँग जोडीका रूपमा प्रस्तुत हुनु थियो। यसअघि विज्ञापनमा सँगै काम गरे पनि फिल्ममा भीमकी श्रीमतीको भूमिकामा दीपाश्री देखिँदा नयाँ अनुभव भएको उनले बताए।
त्यस्तै, अभिनेता हरिवंश आचार्यसँग पहिलोपटक पर्दा बाँड्न पाउनु पनि उनका लागि फरक अनुभव रह्यो। फिल्ममा युधिष्ठिरको भूमिकामा रहेका हरिवंशले भीमलाई सम्झाउने दृश्यले आफूलाई नयाँ अनुभूति दिएको जितुको भनाइ छ।
‘मैले यसअघि दीपा दिदीसँग काम गरेको थिएँ। तर यसमा भीमको श्रीमतीको भूमिका उहाँले निर्वाह गर्नुभएको छ। त्यो नौलो अनुभव भयो। अर्को कुरा हरिवंश आचार्यज्यूसँग पहिलोपटक पर्दा बाँड्ने अवसर पाएँ। युधिष्ठिरले भीमलाई सम्झाउने दृश्य पनि मेरा लागि फरक अनुभव रह्यो,’ उनले भने।
पाँच पाण्डवको कथा र ठूलो कलाकार समूह भएका कारण आफूलाई कसरी प्रस्तुत गर्ने भन्ने चुनौती पनि रहेको जितुले बताए। दर्शकले आफूलाई मुख्यतः हास्य कलाकारका रूपमा चिन्ने भएकाले फिल्ममा आफ्नो भूमिका कस्तो रहने भन्नेमा पनि उनले ध्यान दिएको सुनाए।
जितु जोडिएको फिल्ममा दर्शकले हास्यरसको अपेक्षा गर्नु स्वाभाविक हो। उनी पनि दर्शकको यो अपेक्षा केही हदसम्म पूरा हुने बताउँछन्। ‘त्यो चाहना केही हदसम्म पूरा हुन्छ। हल्का रूपमा हुन्छ। किनभने यो एउटै मान्छेको कथा होइन, पाँच जना भाइको कथा हो। हरेक कलाकारका आ-आफ्ना पाटा र कथा छन्। त्यसकारण कथाले र दृश्यले जति मागेको छ, त्यति नै हाम्रो कमेडी छ,’ उनले भने।
निर्देशक वसन्त निरौलासँग जितुले यसअघि फिल्म ‘ज्वाइँ साब’मा काम गरिसकेका छन्। लेखक सुशील पौडेलसँग पनि उनको पुरानै चिनजान थियो भने निर्माता नवीन श्रेष्ठसँग फिल्म ‘लाज शरणम्’ निर्माणका क्रममा भेटघाट भएको थियो। नियमित भेटघाटका क्रममा फिल्ममा काम गर्ने कुरा अघि बढेको र पाँच पाण्डवको समूहमा आफू पनि जोडिएको उनले बताए।
वसन्त निरौलाको निर्देशनमा बनेको ‘पाँच पाण्डव’ सामाजिक कथामा आधारित फिल्म हो। लेखक सुशील पौडेलका अनुसार फिल्मले महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ।
फिल्ममा जितु नेपालसँगै हरिवंश आचार्य, महेश त्रिपाठी, दीपाश्री निरौला, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला र इभा गिरीलगायत कलाकारको अभिनय छ। यसका साथै सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री)लगायत कलाकार पनि देखिनेछन्।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् भने निर्माता काली रानी श्रेष्ठ हुन्। कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका छन्। फिल्मको छायाङ्कन श्याम तामाङले गरेका छन् भने सम्पादन सुप्रिम पराजुलीको छ। द्वन्द्व निर्देशन सम्राट बस्नेत, नृत्य निर्देशन गम्भीर विष्ट र विक्रम स्वाँरको छ।
फिल्ममा अर्जुन पोखरेलको सङ्गीत, उत्तम न्यौपानेको ध्वनि संयोजन, सुजिल कर्माचार्यको पृष्ठभूमि सङ्गीत र पुकार धिमालको दृश्य प्रभाव रहेको छ। रोहित राज गौतम मुख्य निर्माण व्यवस्थापक र विष्णु बुढाथोकी निर्माण व्यवस्थापक छन्। फिल्मको डिजिटल साझेदार ओएसआर डिजिटल हो भने आरआर फिल्म्सले देशव्यापी वितरण गर्नेछ।






प्रतिक्रिया