सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – बालगीत परियोजना अन्तर्गत त्रियोग हाइस्कुलसँग सहकार्य गरी निर्माण गरिएको बालगीत “हामी लालाबाला” सार्वजनिक भएको छ । गीतकार रामबाबु सुवेदीले शब्द रचना गर्नुभएको यस बालगीतमा डिल्लीप्रसाद चापागाईंको सङ्गीत छ | भावना पौडेलसहितका बालबालिकाले गायनमा साथ दिएका छन् भने आलोक चौरेली, शिष्टता थापा, आरजुरत्न पंगेनीलगायतले कलाकारको भूमिका निर्वाह गरेका छन् | काठमाडौं धापासीस्थित त्रियोग हाइस्कुलमा कार्यक्रम गरी सार्वजनिक गरिएको यस बालगीतमा आचार्य गोपालको निर्देशन र परिकल्पना रहेको छ भने सुनील भण्डारीको छायाङ्कन, वीरबहादुर थारूको सम्पादन, रूपेश श्रेष्ठको कोरियोग्राफी, आशुका अर्यालको सहायक निर्देशन रहेको छ ।

बालबालिकाहरूमा देशप्रेम जागृत गर्न यो गीत रचिएको गीतकार रामबाबु सुवेदीले बताउनुभयो । यस्तै कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. वासुदेव त्रिपाठीले बालबालिकाहरू सफलताको शिखरमा चरीसरि उड्न सक्छन्, भविष्यमा उनीहरूले राम्रो गर्छन् भन्ने भाव रहेको यस गीतको अडियो भिडियो निकै उत्कृष्ट बनेको प्रतिक्रिया दिनुभयो। यस्तै अर्का अतिथि साहित्यकार प्रभा भट्टराईले बालसाहित्यमा प्रस्तुत बालगीत परियोजना निकै उपयोगी र सिर्जनशील रहेको कुरा बताउनुभयो । त्रियोग स्कुलका इन्चार्ज निकेन्द्र तमुले यस गीतको छायाङ्कन प्रक्रियामा बालबालिकाहरूले निकै रमाइलो मानेको बताउनुभयो ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com