सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – कवि विप्लव प्रतीकका मार्मिक शब्दबाट सुरु भएको बफिन्स ९८ समूहको ‘बरबरी आँसु’ बोलको गीत सार्वजनिक भएको छ। यस गीतले हजारौँ नेपाली युवाको कारुणिक कथालाई समेटेको छ। रोजगारीका लागि बिदेसिएका नेपाली युवाले भोगेको पीडा र त्यसको भयावह परिणामलाई यस गीतको म्युजिक भिडियोले जीवन्त रूपमा प्रस्तुत गरेको छ।

गरिबी, अशिक्षा र बेरोजगारीको चपेटामा परेका नेपाली युवाहरू आफ्ना साना सपना पूरा गर्न, परिवारको पेट पाल्न र सुनौलो भविष्यको खोजीमा परदेश जान बाध्य छन्। तर, उनीहरूको यो यात्रा अवसरको खोजी मात्र नभई आँसु, पसिना र कहिलेकाहीँ त रगतले लेखिएको दुःखद कहानी बन्न पुग्छ। देशभित्र मौलाएको भ्रष्टाचारले उनीहरूलाई आफ्नै भूमिमा बस्न नसक्ने स्थितिमा पुर्‍याएको छ। यसैले, आफ्नो मायालु आँगन, आमा-बुबाको काख र आफ्नाहरूको साथ छोडेर उनीहरू अनिश्चित भविष्यतर्फ लाग्छन्।

हरेक वर्ष हजारौँ नेपाली युवा रोजगारीको क्रममा विदेशमा ज्यान गुमाउँछन् र उनीहरूको पार्थिव शरीर रातो बाकसमा फर्किन्छ। यस गीतले त्यही रातो बाकसको कथालाई केन्द्रमा राखेको छ, जहाँ आमाले धन कमाउन गएको छोरालाई वर्ष दिन नपुग्दै निर्जीव शरीरमा फर्केको देख्दा भोग्नुपरेको अपार पीडालाई समेटेको छ। आफ्नो छोराको लास हेर्दै भक्कानिएर रोएकी आमाको वेदनाले हरेक दर्शकको मन छुन्छ। यो गीत केवल शब्द होइन, यो त हजारौँ युवाको मौन चिच्याहट हो, जुन आज पनि हावामा बिलाइरहेको छ।

पछिल्लो साढे दुई दशकदेखि देशभक्तिपूर्ण गीत सङ्गीतका लागि परिचित बफिन्स ९८ समूहले यस गीतको निर्माण गरेको हो। सञ्जीव गुरुङको स्वर रहेको यो गीतको लेखन, भिडियो निर्देशन र सम्पादन जीवन भट्टराई ‘भाइ’ले गरेका छन्। यस गीतको छायाङ्कन विक्रम श्रेष्ठले गरेका हुन् भने तारा शर्मा र रमेश गौतमको अभिनय रहेको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com