सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेकोचलचित्र ‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । जेनजी पुस्ताको आन्दोलनका कारण प्रचार प्रसारको लागि समय अपुग भएका कारण चलचित्रको रिलिज पोष्टपोण्ड गरिएको निर्देशक उपेन्द्र सुब्बाले बताए ।

चलचित्रको निर्माण टिमले मंगलबार २ पोस्टर सार्वजनिक गर्दै आगामी कार्तिक ६ गते भाइटीकालाई प्रदर्शन मिति घोषणा गरिएको छ । कवि उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्रको आज सार्वजनिक भएका दुई पोस्टरमध्ये पहिलो पोस्टरमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरलाई मात्र प्रस्तुत गरिएको छ । यी दुवैलाई पोस्टरमा परम्परागत लिम्बु पहिरनमा खुशी मुद्रामा देख्न सकिन्छ ।

दोस्रो पोस्टरमा दयाहाङ र मिरुनासहित बुद्धि तामाङ तथा विजय बराललाई अटाइएको छ । सार्वजनिक भएका यी दुवै पोस्टरले लिम्बु समुदाय र उनीहरूको संस्कृतिको अभिन्न पाटोको सेरोफेरोमा सिनेमाले कथा पस्कने बुझ्न सकिन्छ । सिनेमाका यी पोस्टरले एउटा अद्भुत कथा पर्दामा पस्किने सहज अनुमान गर्न सकिन्छ ।

बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रका निर्माताहरु सफल निर्देशक रामबाबु गुरुङ र मधु मिजार, जीवन गुरुङ हुन् ।चलचित्रमा दयाहाङ, मिरुना, विजय, बुद्धिसहित ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ ।

कवि सुब्बाको डेव्यु निर्देशकिय सिनेमा ‘जारी’ २०८० सालको ब्लकबस्टर चलचित्र हो । सो वर्ष चलचित्रले नेपाली बक्स अफिसमा १७ करोड माथिको व्यापार गरेको थियो । त्यसैले निर्माण घोषणा भएदेखि नै चलचित्रलाई प्रतिक्षित चलचित्रको सूचीमा राखिएको छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com