सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – दीपक रौनियार द्वारा निर्देशित चलचित्र ‘राजागञ्ज’ फ्रान्सका ६० भन्दा बढी हलहरुमा एकसाथ रिलिज भएको छ । भेनिसमा वल्र्ड प्रिमियर भएको चलचित्रको अंग्रेजी नाम ‘पूजा, सर’ हो ।
अन्तर्राष्ट्रिय सिनेमाको केन्द्र मानिने फ्रान्समा यति धेरै हलमा नेपाली फिल्म रिलिज भएको यो पहिलोपटक हो । फ्रान्सेली वितरण कम्पनी एआरपी सेलेक्सनले यो फिल्मलाई त्यहाँ प्रदर्शन थालेको हो । वितरण कम्पनीकी मिशेल हाल्बस्र्टाडले यसबारे भनिन्, ‘‘पूजा, सर’ एउटा यस्तो फिल्म हो जसले हामीलाई यसको रहस्य, संस्कृति र दृश्यमा सीधै लैजान्छ । यस अर्थमा, यो अप्रत्याशित र आकर्षक छ । हामी फ्रान्सका दर्शकलाई यो फिल्म प्रस्तुत गर्न पाउँदा खुसी छौं ।’
यो फिल्मलाई फ्रान्सेली मिडियाले प्रशंसा पनि गरेका छन् । एल्ली म्यागजिनले ‘एक अद्भूत थ्रीलर रत्न’ भन्दै प्रशंसा गरेको छ । ‘ आफ्नो फिल्मलाई निर्यातयोग्य बनाउन पश्चिमीकरण नगरी, दीपक रौनियारले हामीलाई नेपालका विभिन्न समुदायबीचको समस्या र संघर्षमा डुबाउँछन्-हामीले नबुझ्ने डर बिना’ म्यागजिनले लेखेको छ ।
प्रतिक्रिया