सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – भारतीय फिल्म ‘केजीएफ’ मार्फत गरुडाको उपनामले चर्चामा आएका कलाकार रामचन्द्र राजुले नेपाली दर्शकलाई संदेश पठाएका छन् । उनले एक भिडिओ संदेशमार्फत नेपाली दर्शकलाई आफू अभिनित पौराणिक ड्रामा फिल्म ‘नागबन्धम’ नेपालमा प्रदर्शनमा आएको जानकारी गराउँदै फिल्म हेर्न आग्रह गरेका छन् । उनले क्यापिटल वर्ल्डमार्फत नेपाल भित्रिएको ‘लार्जर–द्यान–लाइफ’ अनुभव दिने यो फिल्मलाई स-परिवार हेर्न आग्रह गर्दै यसले हिमालयको रहस्यमय गहिराइमा लुकेको भगवान् अनन्त पद्मनाभस्वामीको अमूल्य खजाना र श्रीरङ्गापुरम् मन्दिरमा रहेको ऐतिहासिक ‘ब्रह्म कमल’ (सुनौलो फूल) को रहस्यमय संसारलाई भव्य रूपमा प्रस्तुत गरेको बताए ।

उनले भने, ‘हाम्रो फिल्म नेपालमा प्रदर्शनरत छ । यसले तपाइँलाई हिन्दु माइथोलोजीका बारेमा जानकारी गराउँदै भव्य र सुन्दर कथा प्रस्तुत गरेको छ । यसमा एउटा फिल्ममा चाहिने सबै पक्ष छ, त्यसैले यसलाई हेरेर मनोरन्जन लिनुस् ।’

उनले फिल्ममा खलनायकको भूमिका निर्वाह गरेका छन् । अभिषेक नामाको लेखन तथा निर्देशन रहेको फिल्ममा मुख्य पात्र रुद्र (विराट कर्ण) लाई भगवान् महादेव (शिव) को शक्तिशाली र उग्र स्वरूपका रूपमा प्रस्तुत गरिएको छ । उनी आफ्नो समुदाय र धार्मिक सम्पदालाई दुष्ट शक्तिबाट जोगाउन जीवन नै दाउमा लगाएर संघर्षरत देखिन्छन् ।

फिल्ममा विराट कर्णसँगै मुख्य अभिनेत्रीका रूपमा नभा नतेश र ऐश्वर्या मेननले अभिनय गरेका छन् । साथै, फिल्ममा चर्चित कलाकारहरू महेश माञ्जरेकर, जगपति बाबु, मुरली शर्मा र ऋषभ साहनीको पनि महत्त्वपूर्ण भूमिका रहेको छ ।

एनआईके स्टुडियो र अभिषेक पिक्चर्सको ब्यानरमा किशोर अन्नपुरेड्डी र निशिता नागिरेड्डीले निर्माण गरेको फिल्मले पौराणिक कथालाई सामाजिक, राजनीतिक तथा साम्प्रदायिक विषयसँग जोडेर प्रस्तुत गरेको छ । निर्माण पक्षका अनुसार हिन्दु धर्मप्रति आस्था राख्ने दर्शकका लागि यो फिल्म विशेष आकर्षणको केन्द्र बनेको छ ।

https://www.facebook.com/share/r/1HAvPSmjKQ/

 

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com