सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेपाली फिल्म क्षेत्रका लागि दसैँलाई प्रदर्शनको महत्त्वपूर्ण समय अर्थात् ‘प्राइम टाइम’ मानिन्छ । यही अवसरलाई लक्षित गर्दै कतिपय फिल्म प्रदर्शनको तयारीमा छन् भने कतिपय प्रचारप्रसारमार्फत दर्शकमाझ पुग्ने प्रयासमा छन् ।

दसैँलाई प्रदर्शनको उपयुक्त समय ठानेर मैदानमा उत्रिएको फिल्ममध्ये निर्देशक रामबाबु गुरुङको ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ पनि एक हो । कार्तिक ६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको टिम पछिल्लो समय प्रचारप्रसारमा निकै सक्रिय देखिएको छ ।

फिल्मको प्रचारप्रसारमा टिमले देखाएको सक्रियतालाई निर्देशक गुरुङले बजारमा चलिरहेको प्रचारप्रसारको प्रतिस्पर्धा र दसैँमा लोकप्रिय फिल्मका शृङ्खलाहरू प्रदर्शनमा आउनुलाई यसको कारणका रूपमा प्रस्तुत गरे ।

‘यसपालि अलि बढी देख्नुभयो होला तपाईंहरूले, किनकि बजारमा प्रमोसनको प्रतिस्पर्धा चलिरहन्छ । त्यो प्रतिस्पर्धाको माहोल पनि देखिएको छ । साथै, दसैँताका नै लोकप्रिय फिल्मका शृङ्खलाहरू प्रदर्शनमा आइरहेका छन्। यही कारण उनीहरूसँग दौडिन नसके पनि हिँड्न त सकौँ भन्ने महसुस भएको हो,’ उनले भने ।

रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ ले युनिभर्सल सर्टिफिकेट पाएको छ । केन्द्रीय चलचित्र जाँच समितिले शुक्रबार फिल्मलाई युनिभर्सल सर्टिफिकेट दिएको हो । युनिभर्सल सर्टिफिकेट पाएसँगै फिल्म सबै उमेर समूहका दर्शकले हेर्न पाउनेछन् ।

निर्देशक गुरुङका अनुसार, सेन्सर बोर्डका पदाधिकारीले फिल्मको प्रशंसा गरेका छन् । बोर्डका पदाधिकारीले ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ ले अघिल्ला शृङ्खलामा जस्तै सामाजिक कथालाई कमेडी शैलीमा प्रस्तुत गर्दै दर्शकलाई भरपूर मनोरञ्जन दिने प्रतिक्रिया दिएको उनले बताए ।

यसअघि प्रदर्शनमा आएका ‘कबड्डी’ का चारवटै शृङ्खला सफल भएका थिए। अघिल्ला फिल्मको सफलताका कारण पाँचौँ शृङ्खलाप्रति दर्शकको अपेक्षा उच्च छ। निर्देशक रामबाबु गुरुङले कथामा नयाँ ट्विस्ट थप्दै फिल्मलाई रोचक बनाएको भन्दै दर्शकले उनको प्रशंसा गरिरहेका छन्।

फिल्ममा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंसहितका कलाकारको अभिनय रहेको छ।

बाँसुरी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्ममा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) को लगानी छ। सागर राज कार्यकारी निर्माता रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत रहेको छ। फिल्मको छायांकन सञ्जय लामाले गरेका छन् भने सम्पादन सुरेन्द्र पौडेलको छ।

फिल्मका मुख्य सहायक निर्देशकमा सोमनाथ खनाल र तारानाथ न्यौपाने छन्। नेपालमा फिल्मको वितरण ब्यांकटेश इन्टरटेनमेन्ट र टी फल्कले गर्नेछन् भने विदेशमा सेभेन सिज इन्टरनेसनलले वितरण गर्नेछ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com