सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा नेपालका सर्वोच्च नेता गणेशमान सिंहको जीवन, त्याग र ऐतिहासिक बलिदानमा आधारित नाटक ‘वीर गणेशमान’को मञ्चन सुरु भएको छ। प्रिमियर शोमा गणेशमान सिंहका छोरा तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको उपस्थिति रहेको थियो।

नाटक हेरेपछि नेता सिंहले नेपालमा पूर्ण प्रजातन्त्र कसरी आयो र त्यसका लागि गणेशमान सिंहको योगदान कस्तो थियो भन्ने यथार्थ बुझ्न आजको युवा पुस्ताले नाटक हेर्नुपर्ने बताए। राजनीतिक परिवर्तन सहजै प्राप्त भएको भन्ने कमजोर बुझाइ आजको पुस्तामा हुन नहुने भन्दै उनले इतिहासको वास्तविक मूल्य बुझ्न सबैलाई नाटक हेर्न आग्रह गरे।

प्रिमियर शोमा कलाकार, राजनीतिक विश्लेषक, साहित्यकार, पत्रकार तथा विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो। गणेशमान सिंह फाउन्डेसनको आयोजना तथा सर्वनामको प्रस्तुतिमा तयार भएको नाटकले १०३ वर्ष लामो निरंकुश जहाँनियाँ राणा शासनविरुद्ध नागरिकलाई अधिकार दिलाउन गणेशमान सिंहले गरेको अदम्य साहसलाई मञ्चमा जीवन्त रूपमा प्रस्तुत गरेको छ।

राणा शासकबाट सर्वस्वहरणसहित जन्मकैदको सजाय पाएका गणेशमान सिंह भद्रगोल जेलको पर्खाल नाघेर भाग्न सफल भएको घटनालाई नाटकमा मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ।

त्यसैगरी, २०४६ सालको जनआन्दोलन सफल भएपछि आफूलाई प्राप्त प्रधानमन्त्री पदसमेत सहर्ष त्याग गर्दै ‘सत्ताभन्दा माथि निष्ठा हुन्छ’ भन्ने उच्च आदर्श र त्याग प्रस्तुत गरेको ऐतिहासिक क्षणलाई पनि नाटकले मुख्य विषयवस्तु बनाएको छ।

वरिष्ठ रंगकर्मी अशेष मल्लको परिकल्पना, नाट्यरूपान्तरण तथा निर्देशन रहेको नाटकमा गणेशमान सिंहको मुख्य भूमिकामा अभिनेता अभयराज बरालले अभिनय गरेका छन्।

निर्देशक मल्लले आफ्नो ५० वर्ष लामो नाट्ययात्रामा बिम्ब र प्रतीकको शैली छाडेर पहिलोपटक यथार्थपरक प्रस्तुति अँगालेको बताए। प्रा. डा. सावित्री कक्षपतीको स्क्रिप्ट सम्पादन रहेको नाटक असोज १४ गतेसम्म मञ्चन हुनेछ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com