सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । भोटेकोशीमा आएको बाढीका कारण देशमा उत्पन्न विपद्को अवस्थालाई मध्यनजर गर्दै फेसन रियालिटी शो ‘फेस अफ नेपाल–२०२६’को ग्रान्ड फिनाले स्थगित गरिएको छ । आयोजक एमएस प्रोडक्सनले सूचना जारी गर्दै विपद्को यस अवस्थामा सहभागी तथा सम्बन्धित सबैको सुरक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै फिनाले स्थगित गर्ने निर्णय गरिएको जनाएको छ ।

यसअघि अगस्ट ३० मा आयोजना हुने तय भएको फिनाले अब सेप्टेम्बर ६ मा हुने आयोजकले जनाएको छ । फिनाले ग्वार्कोस्थित रोयल टुलिपमा साँझ ५ बजेबाट सुरु हुनेछ । आयोजकले अगस्ट २८ मै फिनाले स्थगित गरिएको जानकारी गराएको थियो । त्यसबेला नयाँ मिति भने सार्वजनिक गरिएको थिएन ।

फिनाले स्थगित भएसँगै आयोजकले प्रतियोगी, साझेदार, प्रायोजक, सञ्चारमाध्यम तथा शुभेच्छुकहरूको समझदारी र सहयोगप्रति आभार व्यक्त गरेको छ । साथै, विपद्को यस अवस्थामा सबैलाई सुरक्षित र बलियो रहन आग्रह गरेको छ । आयोजकका अनुसार फिनालेका लागि कुल १९ जना प्रतियोगी प्रतिस्पर्धामा छन् । जसमा ८ जना महिला र ११ जना पुरुष प्रतियोगी रहेका छन् ।

फिनालेको निर्णायक मण्डलमा एसिया मोडल फेस्टिभलका अध्यक्ष याङ युई सिङ, फेस अफ नेपाल–२०२१ तथा अभिनेत्री एवं मोडल नीति शाह, राष्ट्रिय निर्देशक मेनुका माझी, फेस अफ नेपाल–२०२४ का हिमाञ्चल राज केसी, भ्यालेन्टिनो बुटिक तथा भ्यालेन्टिनो इन्टरनेसनल कलेज अफ फेसन एन्ड इन्टेरियरका संस्थापक एवं फेसन डिजाइनर सुकनीता चौलागाईं र नेपालका लागि कोस्टारिका गणराज्यका मानार्थ वाणिज्यदूत तथा ग्लोबल इक्विटी फन्डका संस्थापक प्रबन्धक साझेदार मनीष थापा रहेका छन् ।

याङ युई सिङ कोरियाली फेसन शोका परिचित अनुहार हुन् । उनी ‘फेस अफ नेपाल–२०२६’को ग्रान्ड फिनालेमा सहभागी हुन नेपाल आइसकेका छन् । ‘फेस अफ नेपाल–२०२६’ अन्तर्राष्ट्रिय प्रतिष्ठित एसिया मोडल फेस्टिभल, दक्षिण कोरियाको नेपालका लागि आधिकारिक फ्रेन्चाइजका रूपमा सञ्चालन हुँदै आएको प्रतियोगिता हो ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com