सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अभिनेत्री विद्या बालन पछिल्लो समय फिल्म ‘जेलर २’ को छायांकनमा व्यस्त छिन् । साउथ इन्डियन सुपरस्टार रजनीकान्तको मुख्य भूमिका रहेको फिल्ममा विद्याको प्रवेशले उनलाई चर्चामा ल्याएको हो ।

पछिल्लो समय उनी ‘भूल भुलैया ३’ मा देखा परेकी थिइन् । भारतीय सञ्चारमाध्यममा ‘भूल भुलैया ४’मा समेत विद्या र कार्तिक आर्यन रहने खबर सार्वजनिक भइरहेका छन् । तर, बलिउडमा अहिले स्थापित नाम बनिसकेकी विद्याको यात्रा सहज भने थिएन ।

कुनै समय उनलाई बलिउडमा ‘अनलक्की गर्ल’समेत भनिन्थ्यो । ‘परिनिता’, ‘मुन्नाभाई एमबीबीएस’, ‘द डर्टी पिक्चर’, ‘कहानी’लगायतका फिल्ममा दमदार अभिनय गरेकी विद्याले यो सफलता पाउन लामो संघर्ष गर्नुपरेको थियो।

फिल्मी पृष्ठभूमि नभएको परिवारबाट बलिउडमा प्रवेश गरेकी विद्याले हालै भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा आफ्नो संघर्षका दिन सम्झिएकी छन्। विज्ञापन र म्युजिक भिडियो हुँदै फिल्ममा प्रवेश गरेकी उनले करियरको सुरुवाती चरणमै लगातार १२ वटा फिल्मबाट हात झिक्नुपरेको बताएकी छन्।

उनका अनुसार आफू संलग्न भएका प्रोजेक्टहरू या त रोकिए या निर्माण नै हुन सकेनन्। ‘म जोडिएका प्रोजेक्ट या त रोकिन्थे या बन्थेनन्। लगातार १२ वटा फिल्ममा त्यस्तै भएपछि मलाई अनलक्की भन्न थालिएको थियो। मलाई आफैँलाई पनि फिल्ममा केही हुँदैन जस्तो लाग्न थालेको थियो,’ विद्याले भनेकी छन्।

लगातारको असफलताले उनी मानसिक रूपमा निराश हुन थालेकी थिइन्। त्यही समयमा उनलाई दक्षिण भारतीय फिल्मको प्रस्ताव आयो। फिल्म साइन गरेर छायांकनसमेत सुरु भएपछि अब भने आफ्नो करियरले गति लिने विश्वास विद्यालाई लागेको थियो।

तर, उनको त्यो खुसी एक सातामै सकियो। निर्मातासँग बजेट अभाव भएपछि फिल्मको छायांकन रोकियो। त्यसपछि उनले अभिनयलाई नै करियर बनाउने कि नबनाउने भन्ने विषयमा समेत सोच्न थालेकी थिइन्। त्यो कठिन समयमा उनकी आमाले भने निरन्तर आत्मबल दिइरहिन्। विद्या नजिकै रहेको साईबाबा मन्दिरमा गएर घण्टौँ रोएर प्रार्थना गर्ने गरेको पनि बताउँछिन्।

‘म साईबाबा मन्दिरमा गएर घण्टौँ रुन्थेँ र मलाई यहाँसम्म ल्यायौ, अब गन्तव्यसम्म पुर्‍याउने तिम्रो काम हो भन्दै प्रार्थना गर्थेँ,’ उनले भनेकी छन्। त्यही समयमा उनलाई एउटा सेक्स कमेडी फिल्मको प्रस्ताव पनि आयो। उनले फिल्म साइन गरिन्, तर काम गर्न असहज लागेपछि प्रोजेक्टबाट बाहिरिइन्। त्यसपछि त्यससम्बन्धी कानुनी झमेलासमेत सामना गर्नुपरेको उनले बताएकी छन्।

‘त्यो समय मलाई लाग्थ्यो, मेरो जीवनमा किन यति धेरै समस्या आइरहेको छ? मेरो परिवारले हौसला नदिएको भए म त्यो फेज पार गर्न सक्दिनथेँ,’ विद्याले भनेकी छन्।

यसरी संघर्षकै बीच उनले करिब तीन वर्ष बिताइन्। त्यसपछि उनलाई म्युजिक भिडियोमा काम गर्ने अवसर मिल्यो। निर्देशक प्रदीप सरकारको एउटा म्युजिक भिडियोमा काम गर्ने अवसर उनका लागि करियरको महत्वपूर्ण मोड बन्यो।

विद्याका अनुसार उक्त भिडियोमा काम गर्ने अवसर पनि संयोगले जुरेको थियो। भिडियोको छायांकन सकिने क्रममा प्रदीप सरकारले उनलाई आफूले फिल्म बनाउने बताएका थिए। तर, लगातार १२ वटा फिल्मबाट निकालिइसकेकी विद्याले त्यसलाई त्यति गम्भीर रूपमा लिइनन्।

केही समयपछि प्रदीप सरकारले उनलाई फिल्म ‘परिनिता’मा काम गर्ने प्रस्ताव राखे। फिल्म निर्माणको जिम्मेवारी विधु विनोद चोपडाले लिएका थिए। सुरुमा विद्यालाई आफू फिल्ममा छनोट हुन्छु भन्ने विश्वास थिएन।

‘विनोदले नयाँ कलाकारमा यत्रो पैसा किन लगाउने भनेर दादासँग धेरै पटक छलफल गरेको सुनेकी थिएँ। त्यसैले म फिल्ममा हुन्छु भन्ने लागेको थिएन,’ उनले भनेकी छन्।

तर, प्रदीप सरकारले विद्यालाई विश्वास गरे र उनको अडिसन सुरु भयो। सुरुमा फोटोसुटबाट सुरु भएको अडिसन गीत, दृश्यलगायत विभिन्न चरणमा पुग्यो। करिब एक महिनासम्म हप्तामा एक–दुई पटक अडिसन दिनुपर्ने अवस्था आयो।

लामो समयसम्म अडिसन दिएपछि उनी दिक्क भइसकेकी थिइन्। एक दिन उनी कन्सर्टमा पुगेका बेला उनको मोबाइल अफ थियो। त्यसपछि प्रदीप सरकारले उनकी साथीको नम्बरमा फोन गरे। फोनमा विधु विनोद चोपडाले विद्यासँग कुरा गरे।

त्यतिबेला आफूलाई फिल्मबाट अस्वीकार गर्न लागेको जस्तो लागेको विद्याले बताएकी छन्। ‘म अब नेक्स्ट टाइम काम गरौँला भन्नुहुन्छ भन्ने लागेको थियो। विनोदले मलाई भीडबाट बाहिर आउन भन्नुभयो। म बाहिर निस्किएँ। उहाँले मलाई “तिमी नै मेरी परिनिता हौ” भन्नुभयो। म त्यहाँ एक्लै थिएँ। त्यो सुन्नासाथ रोएँ। आँसु अचानक झरे र रोकिएनन्,’ विद्याले सम्झिएकी छन्।

त्यो क्षण उनलाई लामो समयको मेहनतको फल पाएजस्तो लागेको थियो। एक महिनासम्म आफूले दिएको टेस्ट र अडिसनको अर्थ पनि त्यसपछि बल्ल बुझेको उनले बताइन्। विधु विनोद चोपडाले ‘हिरालाई तयार गर्न कति समय लाग्छ’ भन्ने आशयमा दिएको प्रतिक्रियाले आफूलाई झनै खुसी बनाएको विद्याले बताएकी छन्।

त्यसपछि बनेको ‘परिनिता’ सफल भयो र विद्याको बलिउड करियरले पनि नयाँ मोड लियो। डेब्यु फिल्मबाटै सफलता हात पारेकी विद्याले त्यसपछि ‘मुन्नाभाई एमबीबीएस’, ‘द डर्टी पिक्चर’, ‘कहानी’लगायतका फिल्ममा आफ्नो अभिनय क्षमता प्रमाणित गरिन्। कुनै समय ‘अनलक्की गर्ल’को ट्याग पाएकी विद्याको त्यही संघर्षले अन्ततः उनलाई बलिउडकी सफल र प्रभावशाली अभिनेत्रीका रूपमा स्थापित गर्‍यो। (एजेन्सी सहयोगमा तयार गरिएको ) 

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com