सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । चर्चित वेब सिरिज ‘मिर्जापुर’मा जरिनाको भूमिका निर्वाह गरेर अभिनेत्री अनङ्ग्शा विश्वासले राम्रो पहिचान बनाएकी छन् । सिरिजमा उनको बोल्ड अवतार देखिएको थियो । यही कारण उनले ‘मिर्जापुर’पछि आफूलाई हेर्ने उद्योगको दृष्टिकोणमा आएको परिवर्तनसमेत सामना गर्नुपरेको बताएकी छन् ।

अक्सर फिल्म उद्योगमा बोल्ड भूमिकामा देखिएका अभिनेत्रीलाई गलत नजरले हेर्ने र एउटै ढाँचामा सीमित गर्ने गरिन्छ । अनङ्ग्शाले पनि यस्तै अनुभव भोग्नुपरेको बताएकी छन्। भारतीय मिडियासँगको कुराकानीमा अनङ्ग्शाले ‘मिर्जापुर’पछि आफूलाई ‘सफ्ट पोर्न’ तथा ‘बी ग्रेड’ फिल्मका अफर आएको खुलाएकी छन्। तर, आफूले ती प्रस्ताव अस्वीकार गरेको उनको भनाइ छ।

‘मिर्जापुर’पछि आफ्नो जीवन बदलिएको बताउने अनङ्ग्शा अभिनयलाई साधनाका रूपमा लिन्छिन् । उनले सफल हुन कुनै पनि ‘शर्टकट’ नअपनाउने स्पष्ट पारेकी छन्। बाटो जतिसुकै लामो भए पनि आफ्नो सिद्धान्तबाट पछि नहट्ने उनको भनाइ छ।

उनले भनेकी छन्, ‘मलाई शर्टकट लिन मन पर्दैन। अभिनय मेरा लागि सरस्वतीको साधना गरेजस्तै हो। म यसलाई बेच्न सक्दिनँ। मलाई आफ्नो गन्तव्यसम्म पुग्न एक वर्ष लागोस् वा डेढ वर्ष, म जहाँ पुग्नुपर्ने हो त्यहाँ पुगेरै छाड्नेछु, तर आफ्नै सिद्धान्तमा रहेर।’

‘मिर्जापुर’मा अन्तरंग तथा बोल्ड दृश्य दिँदा आफूलाई निकै कठिन भएको पनि अनङ्ग्शाले बताएकी छन् । उनका अनुसार क्यामेराअघि त्यस्ता दृश्य प्रस्तुत गर्न कलाकारले आफ्नो मानसिक अवस्थालाई पूर्ण रूपमा नियन्त्रणमा राख्नुपर्छ।

‘मिर्जापुर’बाट चर्चा पाएपछि आफूलाई अश्लील तथा आपत्तिजनक सन्देशहरू आउन थालेको पनि अनङ्ग्शाले बताइन् । बोल्ड पात्रका कारण दर्शकले आफूलाई वास्तविक जीवनमा पनि त्यस्तै ठान्ने गरेकोप्रति उनले असन्तुष्टि जनाएकी छन्।

उनका अनुसार पर्दामा प्रस्तुत गरिएको पात्र र वास्तविक जीवनको व्यक्तित्वबीच ठूलो अन्तर हुन्छ। ‘मिर्जापुर’की जरिनासँग आफ्नो वास्तविक जीवनको व्यक्तित्व पूर्ण रूपमा फरक रहेको अनङ्ग्शाको दाबी छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com