सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । साहित्यकार अमर न्यौपानेको मदन पुरस्कार विजेता उपन्यासमा आधारित नाटक ‘सेतो धरती’ अब पोखरामा मञ्चन हुने भएको छ। काठमाडौंमा १०१ शो पूरा गरिसकेको नाटकले विराटनगरमा पनि हाउसफुल मञ्चनसहित सफलता पाएको थियो।
नाटक भदौ २६, २७, २८ र २९ गते पोखरा थिएटर, गैह्रापाटनमा मञ्चन हुने भएको हो। भदौ २६ गते साँझ ५ बजे पहिलो शो हुनेछ भने २७ देखि २९ गतेसम्म बिहान ११ बजे, दिउँसो २ बजे र साँझ ५ बजे गरी दैनिक तीन शो मञ्चन गरिनेछ।
काठमाडौंमा मञ्चन भइरहँदा पोखरेली दर्शकबाट नाटक पोखरा ल्याउन आग्रह गर्दै ठूलो संख्यामा फोन तथा सन्देश आएपछि पोखरामा प्रदर्शन गर्न लागिएको निर्माण पक्षले जनाएको छ ।
पोखरा मञ्चनका क्रममा लेखक अमर न्यौपाने र सञ्चारकर्मी टिकाराम यात्रीको समेत उपस्थिति रहनेछ। हरेक शोमा दर्शकसँग अन्तरक्रिया, साहित्य मन्थन तथा पुस्तक हस्ताक्षर कार्यक्रमसमेत गरिने जनाइएको छ।
सुन्दर धितालको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटकमा एड्रिन धमलासहित गीता विष्ट, सुहाना आचार्य, सजना थापा, सुष्मिता श्रेष्ठ, बिना रोक्का, विरान दाहाल, प्रतीक चौधरीलगायत कलाकारहरूको अभिनय छ। १ घण्टा ४० मिनेट लामो नाटकको टिकट दर ३००, ५०० र १ हजार रुपैयाँ तोकिएको छ।









प्रतिक्रिया