सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेपालका बाढीपीडितको सहयोगार्थ अस्ट्रेलियामा आयोजित राहत अभियानबाट २१ हजार ९ सय ५० अमेरिकी डलर अर्थात् करिब ३३ लाख १६ हजार ४ सय ४० नेपाली रुपैयाँ संकलन भएको छ ।

वाल्चास्थित एप्स्ली आर्म्स होटलका निर्देशक गणेश सेढाईंको पहलमा क्यान्डल लाइट, र्‍याफल तथा अक्सन कार्यक्रम आयोजना गरी उक्त रकम संकलन गरिएको हो। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिसकिएको आयोजकले जनाएको छ।

नेपालमा गत भदौ १० गते आएको विनाशकारी बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारको सहयोगका लागि नेपाली समुदायले राहत अभियान सञ्चालन गरेको फिल्म निर्देशक शोभित बस्नेतले जानकारी दिए।

करिब २५० भन्दा बढी नेपाली तथा स्थानीय अस्ट्रेलियालीको सहभागिता रहेको कार्यक्रममा वाल्चा काउन्सिलका मेयर एरिक नोभाकसले प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारलाई सहयोग गर्न स्थानीय बासिन्दालाई आह्वान गरेका थिए।

राहत अभियानलाई प्रभावकारी बनाउन फिल्म निर्देशक शोभित बस्नेत र सिड्नी निवासी व्यवसायी सन्तोष तिवारीले विशेष समन्वय तथा सक्रिय भूमिका निर्वाह गरेका थिए। कार्यक्रममा खुकुरी र थैलीजस्ता नेपाली मौलिक सांस्कृतिक सामग्रीको प्रदर्शन तथा बिक्रीसँगै र्‍याफल र अक्सनसमेत सञ्चालन गरिएको थियो।

अभियानमा वाल्चा कम्युनिटी, वाल्चा मेन्स सेड, अक्स्ली राइडर्स, रोटरी क्लब, लायन्स क्लबका साथै टामवर्थ र आर्मिडेलका नेपाली समुदायले समेत ऐक्यबद्धता जनाएका थिए।

आयोजक गणेश सेढाईंले संकलित रकम आर्थिक सहयोगमा मात्र सीमित नभई नेपाल र अस्ट्रेलियाका समुदायबीचको मानवीय ऐक्यबद्धताको प्रतीक भएको बताए। उनले अभियानमा सहयोग गर्ने स्थानीय व्यवसायी, विभिन्न संस्था तथा सहभागी सबैप्रति आभार व्यक्त गरेका छन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com