सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । निर्देशक सौरभ चौधरीको महत्वाकांक्षी फिल्म ‘द राइज अफ साम्राज्य’को छायांकन सुरु भएको छ। मंगलबार विराटनगरमा शुभमुहूर्त गर्दै फिल्मको छायांकन थालिएको हो । फिल्मलाई सौरभले यसपटक अझ ठूलो क्यानभासमा निर्माण गर्न लागेका छन्। महाकाव्यात्मक एक्सन ड्रामाका रूपमा निर्माण हुने फिल्मको छायांकनका लागि ७० दिनको तालिका तय गरिएको छ। फिल्मको अधिकांश छायांकन पूर्वी नेपालका विभिन्न स्थानमा गरिने निर्माण पक्षले जनाएको छ।

फिल्मको कलाकारको लाइनअप पनि आकर्षक छ। सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल, अञ्जना बराइली, सुशील श्रेष्ठ र अमरप्रताप श्रेष्ठ प्रमुख भूमिकामा देखिँदैछन्। अभिनयमा अब्बल कलाकारको बलियो टोलीसँग काम गर्न पाउँदा निर्देशक सौरभ उत्साहित छन्।

विशेषगरी सौगात मल्लले फिल्ममा चुनौतीपूर्ण भूमिका निर्वाह गर्नेछन्। निर्देशकका अनुसार उनले २५ वर्षको जवानदेखि ८० वर्षको वृद्धसम्मको जीवन यात्रा पर्दामा प्रस्तुत गर्नेछन्। एउटै पात्रको लामो उमेर अन्तरलाई अभिनयमार्फत प्रस्तुत गर्नु सौगातका लागि पनि महत्वपूर्ण चुनौती बन्नेछ।

यसैगरी, सौरभले पहिलोपटक दयाहाङ राईसँग सहकार्य गर्दैछन्। उनका अनुसार दयाहाङलाई दर्शकले यसपटक फरक चरित्रमा देख्न पाउनेछन्। ‘अगस्त्यः च्याप्टर १’मा सौगात मल्ल र विजय बरालसँग काम गरिसकेका सौरभले उनीहरूसँग पुनः सहकार्य गरेका हुन्। सुशील श्रेष्ठसँग भने सौरभको करिब ६ वर्षपछि पुनर्मिलन भएको हो। उनीहरूले यसअघि सौरभकै पहिलो निर्देशकीय फिल्म ‘लभ डायरीज’मा सहकार्य गरेका थिए।

अर्का कलाकार अमरप्रताप श्रेष्ठले भने यही फिल्मका लागि निर्देशक सौरभको निगरानीमा करिब साढे दुई वर्षदेखि प्रशिक्षण लिइरहेका थिए। ‘द राइज अफ साम्राज्य’को कथा तथा पटकथा चर्चित उपन्यासकार बुद्धिसागरले लेखेका हुन्। डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मलाई नेपाली फिल्मकै ठूलो आकारको एक्सन फिल्म बनाउने निर्माण पक्षको दाबी छ।

प्रवेश चौधरी र निला देव निर्माता रहेको फिल्ममा विश्वास बस्नेत (बेन) सहनिर्माता तथा शंकर पाण्डे कार्यकारी निर्माता छन्। मानकृष्ण महर्जनको डीओपी र श्री श्रेष्ठको एक्सन निर्देशन रहनेछ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com