सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । यही असोज ३० गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा २’को गीत सार्वजनिक भएको छ। निर्माण टिमले प्रचारप्रसारलाई लक्षित गर्दै फिल्ममा समावेश ‘अचेल किन कान्छी’ बोलको गीतको भिडियो सार्वजनिक गरेको हो।

डान्सिङ शैलीको गीतको भिडियोमा पल शाह, मलिका महत, आकाश श्रेष्ठलगायत कलाकारलाई सामूहिक नृत्यमा रमाइरहेको देख्न सकिन्छ। सामूहिक विवाहको परिवेशमा तयार पारिएको भिडियोमा दुलाहाहरूले समेत नृत्य गरेका छन्। गीतको नृत्य निर्देशन गम्भीर बिष्टले गरेका हुन्।

उक्त गीतको भिडियो एक दिनअघि मात्रै छायांकन गरिएको निर्माण पक्षले जनाएको छ। गीतमा शब्द तथा संगीत बाबुल गिरीको रहेको छ भने रवि ओड र गंगा सोनामले स्वर दिएका छन्। सामूहिक स्वरमा शंकर सिंह ठकुरी, प्रेम राई, अञ्जना खतिवडा र सुस्मिता दाहालले साथ दिएका छन्।

गीतको भिडियो सार्वजनिक भएसँगै दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको निर्माण पक्षले जनाएको छ। फिल्ममार्फत पल शाह र मलिका महतले पहिलोपटक सहकार्य गरेका हुन्।

चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन रहेको फिल्ममा पल शाह, मलिका महत, विपना थापा, रिस्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलीप अखेडालगायत कलाकारको मुख्य भूमिका रहेको छ।

फिल्मको लेखनमा रोशन भट्ट र चन्द्र पन्तले सहकार्य गरेका छन् भने संवाद रोशन भट्टले लेखेका हुन्। करण सिंह फिल्मको प्रोडक्सन एक्जिक्युटिभका रूपमा रहेका छन्।

नवराज उप्रेतीको छायाङ्कन, बाबुल गिरीको संगीत, गम्भीर बिष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। फिल्मलाई नेपालभर आरआर फिल्म्सले वितरण गर्नेछ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com