सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । आगामी बडादशैँ अर्थात् असोज ३० गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘आ बाट आमा २’को निर्माण टोली अन्तिम चरणको छायांकनका लागि हङकङ पुगेको छ । फिल्मका बाँकी महत्वपूर्ण दृश्यको छायांकनका लागि मुख्य अभिनेता पल शाह, निर्देशक चन्द्र पन्त, अभिनेत्री रिस्ता गुरुङसहित प्राविधिक टोली हङकङ पुगेको हो ।
हङकङमा हुने सम्पूर्ण छायांकन व्यवस्थापन तथा लाइन प्रोडक्सनको जिम्मेवारी खुसी इन्टरटेनमेन्टले सम्हालेको छ । खुसी इन्टरटेनमेन्टको व्यवस्थापनमा हङकङका विभिन्न रमणीय तथा व्यस्त स्थानमा फिल्मका मुख्य दृश्य छायांकन गरिने निर्माण पक्षले जनाएको छ ।
नेपालमा अधिकांश पारिवारिक तथा भावनात्मक दृश्यको छायांकन सकिएपछि कथाको मागअनुसार प्रवासी परिवेश र परदेशी जीवनको यथार्थलाई पर्दामा उतार्न निर्माण टोलीले हङकङको सेड्युल तय गरेको हो । निर्देशक चन्द्र पन्तका अनुसार हङकङमा पल शाह र रिस्ता गुरुङ जोडिएका केही दृश्यको छायांकन गरिनेछ ।
चाडपर्वको समयमा गाउँमा आमाले गर्ने पर्खाइ र सात समुद्रपारि परदेशमा सन्तानले भोग्ने बाध्यताबीचको भावनात्मक अन्तरसम्बन्धलाई फिल्मको मुख्य कथावस्तु बनाइएको छ । हङकङको अन्तिम सेड्युलले कथाको प्रवासी आयामलाई थप प्रामाणिक र भव्य बनाउने निर्देशक पन्तले बताएका छन् । हङकङको सेड्युल सकिएलगत्तै टोली नेपाल फर्किएर पोस्ट प्रोडक्सनको बाँकी काममा जुट्नेछ ।
आर्या इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा पल शाह र रिस्ता गुरुङसँगै विपना थापा, मलिका महत, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, साइग्रेस पोखरेल, निकिता आचार्य, गजित विष्ट, नरेन खड्का, दिलीप ओखेडा र स्वर्गीय प्रदीप रावतको मुख्य अभिनय रहेको छ। रोशन भट्ट र चन्द्र पन्तको लेखन तथा करण सिंह कार्यकारी निर्माता रहेको फिल्मलाई आरआर फिल्म्सले नेपालभर वितरण गर्दैछ।







प्रतिक्रिया