सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अमेरिकाको ओहायो राज्यस्थित फेयरफिल्डमा भुट्निस कम्युनिटी अफ सिनसिनाटीको आयोजनामा ‘दसैँ–तिहार साँझ २०२६’ भव्य रूपमा सम्पन्न भएको छ । अक्टोबर ३१ मा फेयरफिल्ड कम्युनिटी आर्ट्स सेन्टरमा आयोजित कार्यक्रममा विविध सांगीतिक तथा नृत्य प्रस्तुतिसँगै नेपालीभाषी भुटानी समुदायको ऐतिहासिक यात्रामा आधारित गीति नाटक मुख्य आकर्षण बनेको थियो ।

दोस्रो वर्षमा प्रवेश गरेको सांस्कृतिक उत्सवमा फेयरफिल्ड सहरका मेयर टिम मेयर्सको विशेष उपस्थिति रहेको थियो । विभिन्न पुस्ता, पेसा र सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य सहभागिताले कार्यक्रमस्थल खचाखच भरिएको थियो ।

बीसीसीका अध्यक्ष पुष्प लुइटेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा मेयर मेयर्स प्रमुख अतिथिका रूपमा सहभागी थिए । सम्बोधनका क्रममा उनले भुटानी समुदायको परिश्रम, सांस्कृतिक समृद्धि र स्थानीय समाजमा पुर्‍याएको योगदानको प्रशंसा गरे। जीवन्त भुटानी समुदाय फेयरफिल्डको अभिन्न हिस्सा हुनु गौरवको विषय भएको उनको भनाइ थियो।

सोही अवसरमा मेयर मेयर्सले बीसीसीको सामुदायिक सेवा र फेयरफिल्ड सहरप्रतिको समर्पणको कदर गर्दै प्रदान गरिएको प्रशंसापत्र संस्थाका अध्यक्ष लुइटेललाई हस्तान्तरण गरे। स्थानीय सरकारबाट प्राप्त सम्मानले संस्था र नगर प्रशासनबीचको सकारात्मक सम्बन्ध तथा सामुदायिक सहकार्यको महत्त्वलाई उजागर गरेको थियो।

कार्यक्रममा चलचित्र निर्देशक तथा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज केन्टकीका सल्लाहकार सुमन दाहाल, उक्त संस्थाको ओहायो शाखाका अध्यक्ष रुपेश उप्रेती, नेपालीभाषी चर्चहरूको संस्था अध्यक्ष पास्टर विनोद थुलुङ, हिन्दु रिसोर्स सेन्टरका अध्यक्ष काशी घिमिरे, नेपाली भाषा तथा कला केन्द्रका अध्यक्ष तारा दाहाल, एलसीओबीका अध्यक्ष खेम रिजाल, सिनसिनाटी बौद्ध समाजका निवर्तमान अध्यक्ष लाक्पा तामाङ तथा भुटानका राजनीतिक बन्दीहरूको रिहाइका लागि विश्वव्यापी अभियानसँग आबद्ध भानु खनाल र सिर्जना तिम्सिनालगायतको उपस्थिति थियो।

स्वास्थ्य सेवा, इन्जिनियरिङ, सामाजिक सेवा, घरजग्गा कारोबार तथा आवासीय ऋण व्यवसायलगायत विभिन्न क्षेत्रमा आबद्ध व्यक्तित्व, धर्मगुरु, व्यवसायी र सामाजिक संस्थाका प्रतिनिधिहरूको पनि सहभागिता थियो।

कार्यक्रममा सहभागी चलचित्र निर्देशक सुमन दाहालले लामो समयपछि जीवन्त र स्तरीय सांस्कृतिक कार्यक्रम हेर्न पाएको भन्दै खुसी व्यक्त गरेका थिए। उनले कार्यक्रमका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए।

कार्यक्रमको सबैभन्दा विशेष आकर्षण रुपेश उप्रेतीको लेखन तथा निर्देशनमा तयार पारिएको गीति नाटक बन्यो। नेपालदेखि भुटान हुँदै अमेरिका पुगेको नेपालीभाषी भुटानी समुदायको ऐतिहासिक यात्रा, संघर्ष, विस्थापन, स्मृति र पुनर्स्थापनाका अनुभूतिलाई संगीत, संवाद र अभिनयमार्फत प्रस्तुत गरिएको थियो।

विगतका पीडा, छुटेका सम्बन्ध, पुस्तौँको संघर्ष र नयाँ भूमिमा स्थापित जीवनका अनुभूतिलाई एउटै कथामा समेटिएको प्रस्तुतिले दर्शकलाई भावुक बनाएको थियो। नाटक हेर्दै गर्दा कतिपय दर्शक आँसु पुछिरहेका देखिन्थे। केही सहभागीले यसले आफ्ना पुराना दिन र जीवनका कठिन अध्याय पुनः स्मरण गराएको प्रतिक्रिया दिएका थिए।

उप्रेतीको मौलिक कथावस्तु, लेखन तथा निर्देशनसँगै पृष्ठभूमि संगीत, पार्श्वस्वर र संवादले प्रस्तुतिलाई प्रभावशाली बनाएको थियो। गीति नाटकमा आवाज थापा, संवाद थापा र शशिविक्रम थापाको योगदान रहेको थियो। मनोरञ्जनमा मात्र सीमित नरही उक्त प्रस्तुतिले समुदायको सामूहिक स्मृति, सांस्कृतिक निरन्तरता र पुस्तान्तरणको अनुभवलाई कलात्मक रूपमा उजागर गरेको थियो।

कार्यक्रममा ग्लोबल डान्स स्टुडियोका कलाकारहरूले दसैँ–तिहारसँग सम्बन्धित सांस्कृतिक नृत्य, नेपाली लोकनृत्य तथा मारुनी नृत्य प्रस्तुत गरेका थिए। बालबालिका, युवा तथा विभिन्न उमेर समूहका कलाकारको सहभागिताले कार्यक्रमलाई बहुपुस्तीय सांस्कृतिक उत्सवको स्वरूप दिएको थियो।

सांगीतिक प्रस्तुतितर्फ गायक, गीतकार तथा कलाकार प्रकाश घिमिरे, गायकद्वय किशोर सिवाकोटी र राम गुरुङ, मोहन तिवारी र सुरज गुरुङ, निश्चल अधिकारी तथा गायिकाहरू सारा दुवाडी, नैना आचार्य, पिंकी शर्मा, निरु राई र सम्झना ओलीले आ–आफ्ना प्रस्तुति दिएका थिए।

युवा गायक तथा संगीतकारद्वय दिगन्त गुरुङ र दीक्षान्त गुरुङले गायनसँगै गिटारवादन प्रस्तुत गरेका थिए। वाद्यवादनतर्फ अडी गुरुङले गिटार, इन्द्र लामिछानेले तबला, सर्वजित राईले बाँसुरी तथा डेभिड ढकालले किबोर्डमा साथ दिएका थिए।

त्यसैगरी, सिस्टर्स इन्फिनिट भाइब्स र नव डान्स इन्स्टिच्युटका कलाकारहरूको नृत्यले पनि कार्यक्रमको आकर्षण बढाएको थियो। परम्परागत लोकलयदेखि समकालीन सांगीतिक प्रस्तुतिसम्म समेटिएका कार्यक्रमले दर्शकलाई उत्साहित बनाएको थियो।

उत्सवमा समुदायका अग्रजदेखि अमेरिकामा हुर्कँदै गरेका नयाँ पुस्तासम्मको सहभागिता उल्लेखनीय थियो। परम्परागत गीत, संगीत र नृत्यले सांस्कृतिक निरन्तरतालाई उजागर गर्दा नयाँ पुस्ताका कलाकारहरूको सिर्जनात्मक उपस्थितिले त्यसको भविष्यप्रतिको विश्वासलाई बलियो बनाएको थियो।

कार्यक्रमको समापनमा बीसीसीका अध्यक्ष पुष्प लुइटेलले कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने कलाकार, स्वयंसेवक, सहयोगी संस्था, प्रायोजक, अतिथि तथा सहभागीप्रति आभार व्यक्त गरे।

उनले अग्रज पुस्ताले भौगोलिक सीमा र अनेकौँ चुनौती पार गर्दै जोगाएको सांस्कृतिक विरासतलाई अहिलेका बालबालिका तथा युवाले आफ्नै प्रतिभा र सिर्जनशीलतामार्फत अमेरिकी समाजको साझा कथासँग जोडिरहेको बताए। सांस्कृतिक पहिचानको संरक्षणसँगै विविध समुदायबीचको सम्बन्ध, सहकार्य र आपसी सम्मानलाई सुदृढ बनाउने प्रतिबद्धता पनि उनले दोहोर्‍याए।

फेयरफिल्डमा सम्पन्न ‘दसैँ–तिहार साँझ २०२६’ ले नेपालीभाषी भुटानी समुदायको ऐतिहासिक स्मृति, वर्तमान उपलब्धि र नयाँ पुस्ताको सम्भावनालाई एउटै मञ्चमा जोडेको छ। आफ्नो सांस्कृतिक जरालाई जीवन्त राख्दै अमेरिकी समाजमा योगदान पुर्‍याइरहेको समुदायको यात्रालाई यस उत्सवले कलात्मक रूपमा प्रस्तुत गरेको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com